मुस्लिम साँसदद्वारा चार दर्जन मन्दिर बनाउने घोषणा

२०७५, १५ माघ मंगलवार ११:०७

रौतहट १५ माघ । प्रदेश २ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने रौतहटको एकजना मुस्लिम साँसदले चार दर्जन मन्दिर बनाउने घोषणा गरेका छन् । रौतहट संसदीय निर्वाचन क्षेत्र नम्बर ४ को खबाट प्रदेश सभाका लागि निर्वाचित शेख अबुल कलामले आफ्नो निर्वाचन क्षेत्रका सम्पूर्ण विद्यालयमा सरस्वती मन्दिर बनाउने घोषणा गरेका छन् । प्रदेश साँसद आजादले आफू मुस्लिम समुदायको भए पनि भारत बिहारको शिवहर जिल्लामा माध्यमिक तहमा पढ्दा सरस्वती पूजाको लागि विद्यार्थीहरुको समितिको अध्यक्ष नै रहने गरेको स्मरण गर्दै आफ्नो क्षेत्रको हरेक विद्यालयमा सरस्वती मन्दिर बनाउने घोषणा गरेका हुन् ।

साँसद आजादको निर्वाचन क्षेत्रमा करिब चार दर्जन विद्यालय रहेका छन् । पहिलो चरणमा माध्यमिक विद्यालयमा काम सुरु गरेको साँसद आजादले बताउँदै मावि समनपुर र मावि गरुडामा सरस्वती मन्दिरको निर्माण कार्य सुरु गरिएको बताएका छन् । साँसद आजादले सरस्वतीलाई वाणीको देवीको रुपमा र प्रकाशको रुपमा परिभाषित गर्दै वाणी र प्रकाश सबैलाई चाहिने बताएका छन् । साँसद आजादको मन्दिर बनाउने घोषणालाई सामाजिक सदभाव बढाउने र छुटै पहिचान बनाउने विश्वास लिइएको छ ।