महिला टी–२० स्मास क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

२०७५ माघ २,बुधबार १४:३२

काठमाडौं २ माघ । थाइल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । टर्डथाइ क्रिकेट मैदानमा नेपालले आयोजक थाइल्यान्डको ए टिमलाई ९ विकेटले पराजित गर्दै समूह ए को विजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले १५.४ ओभरमा सबै विकेटको क्षतिमा १९ रन मात्रै बनाउन सक्यो । थाइल्यान्डका कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
थाइल्यान्डका पाँच जना खेलाडी शून्य रनमा आउट हुदा ६ जना खेलाडीले मात्रै रन बनाएका थिए । नेपालका लागि आरती विडारीले ३, सरिता मगर र इन्दु बर्माले समान २–२ विकेट लिएका थिए ।

२० रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ३.३ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्याे । नेपालका लागि ममता चौधरीले आठ रन बनाउँदा नेरी थापाले अविजित ५ र डोली भट्टले अविजित दुई रन बनाए ।

समूह ए मा नेपाल, थाइल्यान्ड ए, युएई, चीन र मलेसिया रहेका छन् । त्यस्तै, समूह बी मा थाइल्यान्डसँगै हङकङ, भुटान, इन्डोनेसिया र म्यानमार रहेका छन् ।

समूह चरणमा नेपालले शतप्रतिशत जित हात पारेको छ । यसअघि खेलेको तीनै खेलमा नेपालले जितेको थियो । नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले र तेस्रो खेलमा युएईलाई पनि ६ विकेटले पराजित गरेको थियो ।