मकवानपुरको कैलाशमा खोटोसहित ट्रक नियन्त्रणमा

२०७५ पुष ३०,सोमबार ११:०५

मकवानपुर ३० पौष । मकवानपुरको कैलाश गाउँपालिकामा भइरहेको सल्लाको खोटो संकलन तथा निकासी कार्यप्रति गाउँपालिकाले चासो देखाएको छ । गाउँपालिकासँग समन्वय नगरीकन अनाधिकृत रुपमा खोटो संकलन भएको भन्दै गाउँपालिकाले प्रहरीसँग समन्वय गरी एउटा ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

गाउँपालिकामा सुचिकृत नभइकनै खोटो संकलनकर्ताले जथाभावी खोटो संकलन गरिरहेको पाइएपछि आइतबार खोटो लोड भएको एउटा ट्रक नियन्त्रणमा लिएर अनुसन्धान थालिएको गाउँपालिकाले जनाएको छ ।

कैलाश गाउँपालिका वडा नं ३ खिर्कीबाट सल्लाको खोटो लोड गरी हेटौँडा जाने तयारी भइरहेको ना ५ ख ७७४ नं. को ट्रक गाउँपालिकासँगको समन्वयमा भार्ता प्रहरी चौकीले नियन्त्रणमा लिएको हो ।

केही बर्षदेखि कैलाश गाउँपालिकाको वडा नं १, २, ३ र ८ नं वडामा नियमित रुपमा खोटो संकलन हुँदै आइरहेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी रुपमा खोटो संकलन भइरहेकोमा त्यसलाई व्यवस्थित गर्ने तयारी गाउँपालिकाले गरेको अध्यक्ष टंकबहादुर मुक्तानले बताए । उनका अनुसार गाउँपालिकाले गाउँसभाबाट पारित आर्थिक ऐन २०७५ ले खोटो संकलन कार्यको लागि बैधानिक व्यवस्था गरेको छ । तर, खोटो संकलक फर्म वा व्यक्तिले सूचिकृत बिना नै खोटो संकलन गर्ने गरेको पाइएको छ ।

आर्थिक ऐन २०७५ को दफा ६ को अनुसूचि ५ बमोजिम खोटो तथा जडिबुटीहरुे संकलन गर्न पाउने कानूनी व्यवस्था छ । जस अनुसार प्रतिकेजी ५० रुपियाँ राजश्व गाउँपालिकालाई बुझाउनुपर्ने हुन्छ । तर, हालसम्म कुनै पनि खोटो संकलकले गाउँपालिकामा फर्म सूचिकरण नगरेको र कर समेत नतिरेको पाइएपछि ट्रकसहितको खोटो नियन्त्रणमा लिइएको अध्यक्ष मुक्तानले बताए ।