ज्यामिरेमा महिलालाई अपशव्द बोल्ने शिक्षक नेताले मागे माफी

२०७५, २८ पुष शनिबार २०:०३

मकवानपुर २८ पुस । बाग्मति गाउँपालिका वडा नम्बर ५ ज्यामिरेमा मादक पदार्थ सेवन गरी महिलालाई अपशव्द बोल्ने मकवानपुरका शिक्षक नेताले माफी मागेका छन् ।  तत्कालिन नेकपा एमाले निकट शिक्षक संगठनका जिल्ला अध्यक्ष श्रीराम दाहाल र उपाध्यक्ष किशोर वर्तौलाले शुक्रबार राति महिलालाई अपशव्द प्रयोग गर्दै गालिगलौज गरेका थिए । रातभर प्रहरी नियन्त्रणमा रहेका उनीहरु माफी मागेपछि मिलापत्र गरी छुटेको स्थानीय पंकज थापा मगरले जानकारी दिए ।

मादक पदार्थ सेवन गरी शिक्षक संगठनका जिल्ला अध्यक्ष दाहाल र उपाध्यक्ष वर्तौलाले देवकी माविका अध्यक्ष जानकी जर्गा र उनका श्रीमान रुपकराज राना मगरलाई राति १० बजे गालीगलौज र धाकधम्की दिएको भन्दै स्थानीयले राति नै उनीहरुलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

दुबैले इलाका प्रहरी चौकी फापरवारीमा गल्ति भएको स्विकारेर माफी मागेपछि शनिबार दिउँसो छुटेका छन् ।
बौद्धिक क्षेत्रका व्यक्तिबाट यस्तो गतिविधि भएको भन्दै स्थानीयले आक्रोश पोखेका थिए । शिक्षकका नेताहरुको यस्तो गलत व्यहारका कारण लज्जित हुनु परेको स्थानीय शिक्षकहरुको भनाई छ ।