काँग्रेसको युवा संगठन तरुण दलले सरकारविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने

२०७५ पुष २८,शनिबार १४:४१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने भएको छ । शनिबार तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले एक विज्ञप्ति जारी गर्दै वर्तमान कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्रविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने जानकारी दिएका छन् ।

कम्युनिष्ट सरकारको अधिनायवाद चरित्र, भ्रष्टाचार, महंगी, मूल्यवृद्धि, वाइडबडी र निर्मला पन्त हत्या प्रकरणलगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको विरोधमा सातै प्रदेशको राजधानीमा विरोध प्रदर्शन गर्ने शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अलोकतान्त्रिक रबैयाको विरोधमा प्रदेश नं. १ को विराटनगरमा माघ ८ गते, प्रदेश नंं २ को जनकपुरमा माघ ९ गते, प्रदेश नं. ३ को हेटौंडामा माघ १० गते, गडण्की प्रदेशको पोखरामा माघ ११ गते, प्रदेश नं. ५ को भैरहवामा माघ १२ गते, कर्णाली प्रदेशको सुर्खेतमा माघ १३ गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा माघ १४ गते विरोध प्रर्दशन गर्ने भएको हो ।