युवकको वीभत्स हत्या

२०७५, २८ पुष शनिबार १३:२७

राँझा, २८ पौष । नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर वीभत्स हत्या भएको छ ।

सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर नगरपालिका–११ बसपार्क नजिकै खुला चउरमा घाँटी रेटिएको अवस्थामा आज शव फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

मृतकका आफन्तका अनुसार ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात व्यक्तिलाई रु १ लाख ५० हजार बुझाएका थिए । सोही अज्ञात व्यक्तिले बोलाएको भन्दै शुक्रबार घरबाट निस्किएका ठकुरी आज बिहान मृतावस्थामा फेला परेका हुन् ।

तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको प्रहरीले जनाएको छ ।