मकवानपुरगढीमा ३ दिने स्वस्ती शान्ति तथा छेवाङ पुजा समापन

२०७५, २८ पुष शनिबार ११:५४

हेटौँडा, २७ पौष । मकवानपुरगढी गाउँपालिका वडा नं. २ मा भएको ३ दिने ‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा (छेवाङ) दिर्घायु अभिषेक कार्यक्रम समापन भएको छ । बुधबारदेखि सुरु भएको दिर्घायु अभिषेक कार्यक्रम शुक्रबार समापन भएको हो ।

बरभञ्ज्याङमा अवस्थित टासी देछेन छ्योईलिङ गुम्बा प्राङ्गणमा भएको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बरभञ्ज्याङमा सुरु भएको पर्यटकीय क्षेत्र निर्माण कार्यलाई आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धत्ता जाहेर गरे । बरभञ्ज्याङदेखि मकवानपुरगढीसम्म जाने नयाँ ट्रयाकको सडकमा त्रिरत्न बुद्धको मुर्ति तथा शिवगणेशको मुर्ति स्थापना गर्न लागिएकोमा आफु निकै खुशी भएको समेत उनले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका विशेष अतिथि एवम् मकवानुरगढी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बखानसिंह पाख्रिनले बरभञ्ज्याङमा भएको मुर्ति शिलान्यासले मुर्तरुप पाउने बताए । पुजाको अन्तिम दिन छेवाङ थाप्नका लागि करिब १ हजार भक्तजनहरुको सहभागि भएको प्रचारप्रसार संयोजक राज स्याङ्तानले बताए ।

पुजाका संयोजक एवम् नेपाल तामाङ घेदुङका संघीय सदस्य पाल्साङ बज्र लामाको अध्यक्षतामा भएको समापन कार्यक्रममा पुजाका सहयोगी दाताहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । पुजामा कुल ११ लाख ६५ हजार रुपैयाँ सहयोग रकम संकलन भएको छ भने ५ लाख ५ हजार २ सय रुपैयाँ खर्च भएको बताइएको छ ।