१७ महिनामै फुट्यो विवेकशील साझा

२०७५, २८ पुष शनिबार ०७:२०

काठमाडौं २८ पुस । वैकल्पिक राजनीतिक शक्ति दाबी गर्दैै आएको विवेकशील साझा पार्टी स्थापनाको १७ महिनामै फुटेको छ । संयोजक रवीन्द्र मिश्रले मनोमानी ढंगले पार्टी चलाएको आरोप लगाउँदै अर्का संयोजक उज्ज्वल थापा १६ केन्द्रीय सदस्य लिएर बाहिरिएका हुन् ।

शुक्रबार थापा समूहका ४३ प्रतिशत केन्द्रीय सदस्यले निर्वाचन आयोगमा नयाँ पार्टी ‘विवेकशील नेपाली दल’ दर्ताका लागि निवेदन दिएका छन् । तीनजना प्रदेश सांसदमध्ये रमेश पौडेल र विराजभक्त श्रेष्ठ थापा समूहमा छन् ।

सामाजिक अभियन्ता थापा नेतृत्वको विवेकशील पार्टी र पूर्वपत्रकार मिश्र नेतृत्वको साझा पार्टीबीच एकता भई ११ साउन ०७४ मा विवेकशील साझा पार्टी  घोषणा भएको थियो । केही समययता थापाले पार्टी सञ्चालन गर्ने मिश्रको शैलीप्रति असन्तुष्टि जनाउँदै आएका थिए । संयोजक थापाको अनुपस्थितिमा मिश्र समूहले मंगलबार पाँच केन्द्रीय सदस्य सिफारिस तथा १२ विभाग खारेज गरेपछि विवाद चुलिएको थियो । गत मंगलबारको निर्णय अनुमोदन गर्न आगामी सोमबार केन्द्रीय समिति बैठक बोलाइएकोमा त्यसअघि नै पार्टी विभाजित भएको छ ।

थापा समूहको आरोप– अपारदर्शी ढंगले पार्टी अघि बढ्न नसक्ने भएपछि छुट्टियौँ
१७ महिनामा पार्टीमा वैकल्पिक राजनीतिक बुझाइ र व्यवहारमा ठूलो भिन्नता रहेको प्रस्टै देखियो । मूल्य–मान्यतामा आधारित राजनीति र पार्टीमात्र नभएर परिपाटी विकास गर्ने अभियानमा यो यात्राले नतिजा दिन नसक्ने स्थिति आयो । अहिलेकै ढंगले अघि बढ्दा निर्णय–प्रक्रिया अपारदर्शी हुने, पार्टीमा सहभागितामूलक अभ्यास कमजोर हुने र सानो कोटरीले निर्णय गर्ने प्रवृत्तिले प्रश्रय पाउने भयो ।

विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्य भन्छन्–वैकल्पिक शक्ति निर्माणमा जनताले दिएको मतमा धोका भयो 
उज्ज्वल थापाजीहरूले असन्तुष्टिहरू केन्द्रीय समितिमा राखेको भए हुन्थ्यो । तर, मिडियामा राख्दै हिँड्नुभयो । उहाँले पार्टी सञ्चालनका विषयमा राखेका मत आफैँले पनि पालना गर्न नसक्ने आदर्शवान थिए । उहाँले सुरुमा संयोजन समितिको बैठक बहिष्कार गर्नुभयो । आफूनिकट नेताको लहडमा लागेर पार्टी निर्वाचन आयोगमा दर्ता गर्नुभयो भन्ने सुनेको छु । उज्ज्वलजीले पार्टी फुटाउनु दुर्भाग्य हो, गल्ती गर्नुभयो । वैकल्पिक शक्ति निर्माणमा जनताले दिएको मतमा धोका हो ।

मिश्र र थापा समूहमा बराबर केन्द्रीय सदस्य 
विवेकशील साझाको विधानमा केन्द्रीय समिति ५१ सदस्यीय तोकिएको छ । तर, ३७ सदस्य मात्रै चयन भएकोमा केही समयअघि पाँचजनाले पार्टीमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए भने एक सदस्य बर्खास्त भएका थिए । गत मंगलबार थापा समूहको उपस्थितिविना पाँच सदस्य सिफारिस गरिए पनि औपचारिक अनुमोदन नभएकाले ३२ सदस्य मात्र थिए । पार्टी फुटेपछि मिश्र र थापा समूहमा बराबर सदस्य बाँडिएका छन् ।

एक्लाएक्लै उदय, एकतादेखि चुनावसम्म 
०६४ को संविधानसभा निर्वाचनपछि राजनीति अस्थिर बन्यो । तोकिएको समयमा संविधान बनेन । जनतामा निराशा बढ्दै गयो । यही समयमा सामाजिक अभियन्तालगायत स्वतन्त्र युवाहरू सामाजिक सञ्जालमार्फत संगठित भए । उज्ज्वल थापा, सन्तोष प्रधान, पुष्कर बम, गोविन्द बमलगायत सामाजिक सञ्जालबाटै जोडिएका थिए । उनीहरू दोस्रो संविधासभामा उम्मेदवारी दिने निर्णयमा पुगे । तर, निर्वाचन आयोगमा दल दर्ता नभएकाले स्वतन्त्र उम्मेदवार घोषणा गरे ।

कुकुर चिह्न लिएर काठमाडौं क्षेत्र नं. १ बाट गोविन्द नारायण, ४ बाट सन्तोष प्रधान, ५ बाट उज्ज्वल थापा र ८ बाट पुष्कर बमले उम्मेदवारी दिए । चुनाव चिह्नकै कारण पार्टीको चर्चा भयो । ‘चुनाव चिह्न के लिने भन्ने विषयमा पार्टीभित्र व्यापक छलफल भयो,’ नेता रमेश पौडेल भन्छन्, ‘अन्तमा सांकेतिक रूपमा कुकुर चिह्न लिन सहमत भयौँ । चुनावमा सहभागिताले धेरैमाझ पार्टी चिनियो ।’ २९ जेठ ०७१ मा विवेकशील पार्टी दर्ता भयो ।

यता रवीन्द्र मिश्र पत्रकारिता छाडेर वैकल्पिक शक्ति स्थापनाका लागि भन्दै राजनीतिमा होमिए । १८ फागुन ०७३ मा साझा पार्टी घोषणा गरे । वैकल्पिक राजनीतिको वकालत गर्ने दुवै पार्टीमा एकताको बहस चल्यो । स्थानीय तहको निर्वाचन तालमेल गरेर लडे । नजिते पनि सकारात्मक चर्चामै रहे । ०७४ मा संघीय निर्वाचनअघि दुई पार्टी एक भए । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष सिट प्राप्त गर्न नसके पनि प्रदेश सभातर्फ समानुपातिकबाट तीन सांसद चुनिए ।