पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार कायमै राख्ने

२०७५, २७ पुष शुक्रबार १५:५६

काठमाडौं, २७ पौष । पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको नेपाल आयल निगम स्थापनाको ४९ औँ वर्षमा प्रवेश गरेपनि प्रतिस्पर्धामा खरो उत्रन नसक्दा इन्धन आपूर्तिको एकाधिकार कायमै राख्ने चुनौती थपिएको छ ।

पेट्रोलियम पदार्थको आयात र वितरण गर्ने जिम्मा पाएका निगम पटक–पटक विभिन्न ‘काण्ड’ मा मुछिँदै गएपछि यसको भूमिका र व्यवसायिकतामाथि पनि विभिन्न निकायबाट प्रश्न उठाइँदै आएको छ ।

भण्डार क्षमता विस्तारका नाउँमा जग्गा खरिद गर्दा व्यापक अनियमिता गरेको, तलदेखि माथिसम्मको ‘सेटिङ’मा तेल चोरी, विद्यार्थी सङ्गठनका नेतालाई ‘तेलका कुपन’ उपहार दिइएको घटनाले निगमको छवि निकै खस्केको छ ।

निगमले व्यवसायिकता प्रदर्शन गर्न नसके पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रलाई आह्वान गर्न सकिनेतर्फ सरकारले निगम व्यवस्थापनको ध्यानाकर्षण गराइसकेको छ ।