बुद्धको मूर्ति चोरीको आरोपमा वडा अध्यक्ष पक्राउ

२०७५ पुष २७,शुक्रबार १४:५८

डोल्पा २७ पौष । हिमाली जिल्ला डोल्पाका एक वडा अध्यक्षलाई प्रहरीले बुद्धको मूर्ति चोरी गरेको आरोपमा पक्राउ गरेको छ ।

शे–फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा उपल्लो डोल्पाको डाल्पोबुद्घ गाउँपालिका–५ का वडा अध्यक्ष कार्मा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडा अध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको बौद्धबाटै पक्राउ गरेको हो ।

शे–फोक्सुण्डो गाउँपालिका–४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्घ मूर्ति चोरीको आरोपमा शे–फोक्सुण्डो गाउँपालिका–४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका–१ का ४१ वर्षीय झ्याम्पाछुल्डिम लामा, वडा नं ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र शे–फोक्सुण्डो गाउँपालिकाका ४३ वर्षीय पासाङ लुण्डुप गुरुङलाई विशेष अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँको बौद्घबाटै पक्राउ गरेको थियो ।