महिला क्रिकेट शनिबारदेखि सुरु, उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

२०७५ पुष २७,शुक्रबार १३:५१

काठमाडौँ, २७ पौष । थाइल्याण्डमा हुने महिला टि–२० क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।

शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भुटान र म्यान्मा छन् ।

नेपाली टोलीमा कप्तानको भूमिका रुविना क्षेत्री रहेकी छिन् । उपकप्तानको जिम्मेवारी सीता राना मगरले पाएकी छिन् । त्यसैगरी टोलीको अन्य सदस्यमा करुणा भण्डारी, डोली भट्ट, ममताकुमारी चौधरी, बिन्दु रावल, सरिता मगर र नेरी थापा रहेका छन् ।

अन्य खेलाडीमा त्यस्तै इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर रहेका छन् । वैकल्पिकतर्फ रीताकुमारी कञ्जुनिया, सुमन विष्ट र सवनम राई रहेका छन् भने टोलीको प्रशिक्षकमा विनोद दास रहेका छन् । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली आजै त्यसतर्फ प्रस्थान गर्नेछ ।