मकवानपुरगढीको छेवाङ पुजामा उपसभामुख राधिका तामाङ

२०७५ पुष २६,बिहीबार १६:३५

हेटौँडा, २६ पौष । प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङले मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ बरभञ्ज्याङमा जारी ३ दिने ‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा (छेवाङ) दिर्घायु अभिषेक कार्यक्रमको बिहीबार अवलोकन गरेकी छिन् ।

बुधबारबाट सुरु भएको कार्यक्रममा उनले दोस्रो दिन सहभागिता जनाएकी हुन् । बरभञ्ज्याङमा अवस्थित टासी देछेन छ्योईलिङ गुम्बा प्राङ्गणमा भइरहेको कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी तामाङले बरभञ्ज्याङमा सुरु भएको पर्यटकीय क्षेत्र निर्माण कार्यलाई आफुले सक्दो सहयोग गर्ने बताईन् । ‘मकवानपुरगढीको विकास र बरभञ्ज्याङमा भएको पर्यटकीय स्थल निर्माणको प्रयासलाई म व्यक्तिगत रुपमा समेत सहयोग गर्न तयार छु’, उनले भनिन्, ‘प्रदेश सरकारले समेत यसलाई सक्दो सहयोग गर्नेछ ।’

कार्यक्रममा बोल्दै कार्यक्रमका विशेष अतिथि एवम् नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानले बरभञ्ज्याङमा त्रिरत्नको मुर्ति स्थापना गर्न लागिएकोमा खुशी व्यक्त गर्दै घेदुङले सदैव सहयोग गर्न तत्पर रहेको बताए ।

पुस २७ गतेसम्म चल्ने छेवाङ पुजामा परम पुजनीय धर्म गुरु क्याब्जे डुपबोन लामा श्येराव तेन्दर रिम्पोछे सहितका गुरुहरुले श्वस्ति शान्ति पुजा र छेवाङ अभिषेक गर्ने कार्यक्रम रहेको छ । त्यस्तै २७ गते शुक्रबार अन्तिम दिन मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यतामा परम पुजनीय धर्म गुरु क्याब्जे डुपबोन लामा श्येराव तेन्दर रिम्पोछेद्वारा छेवाङ दिर्घायु अभिषेक कार्यक्रम हुने बताइएको छ ।