सरकारले प्रत्येक स्थानीय तहमा खेलग्राम बनाउने

२०७५, २६ पुष बिहीबार १४:३६

काठमाडौँ, २६ पौष । सरकारले मुलुकभरका ७५३ वटै स्थानीय तहमा एक÷एक वटा खेलग्राम पूर्वाधार निर्माण गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले पूर्वधार निर्माणसम्बन्धी कार्यविधि तयार गरी मन्त्रिपरिषद्मा पेश गरेको थियो । मन्त्रिपरिषद्को यही पुस १३ गतेको बैठकले उक्त कार्यविधि पारित गरेको हो ।

स्थानीय तह देखिनै योजनाबद्ध रुपमा खेलाडीको उत्पादन, विकास तथा व्यवस्थापनका लागि खेलकूद पूर्वाधारको निर्माण गर्न आवश्यक देखिएकाले प्रत्येक स्थानीय तहमा दीर्घकालीन महत्वका एक÷एक वटा खेलकूद पूर्वाधार निर्माण गर्न सरकारले ‘स्थानीय तहमा खेलकूद पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि २०७५’ बनाएको हो । कार्यविधि पारित भएसँगै प्रत्येक स्थानीय तहमा अब पूर्वाधार निर्माणको काम शुरु हुने मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिए ।