मकवानपुरगढीमा ‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा छेवाङ’ सुरु

२०७५ पुष २६,बिहीबार ११:२६

हेटौँडा, २६ पौष। मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ बरभञ्ज्याङमा ३ दिने ‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा (छेवाङ) दिर्घायु अभिषेक कार्यक्रम शुरु भएको छ ।
बरभञ्ज्याङमा अवस्थित टासी देछेन छ्योईलिङ गुम्बा प्राङ्गणमा बुधबारबाट सुरु भएको कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दलका नेता सांसद ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका थिए ।

छेवाङ पुजा उद्घाटनकै अवसरमा गुम्बाको नयाँ भवनको शिलान्यास गरिनुका साथै बरभञ्ज्याङदेखि ऐतिहासिक मकवानपुरगढी दरबारसम्म पुग्ने बाटोमा त्रिरत्न मुर्ति र शिवगणेश मुर्तिको समेत शिलान्यास गरिएको प्रचारप्रसार संयोजक राज स्याङ्तानले जानकारी दिए ।

प्रमुख अतिथि, विशेष अतिथि र लामा गुरुहरुबाट गुम्बासहित ४ भिन्न–भिन्न स्थानमा गुरु त्रिरत्न मुर्ति (रिम्पोर्छे, आर्य अवता लोकेश्वर्य, अमिता बुद्ध) र शिव गणेशको मुर्तिको पनि शिलान्यास गरिएको हो । बरभञ्ज्याङदेखि मकवानपुरगढी दरबारसम्म पुग्ने बाटो आसपासका क्षेत्रलाई पर्यटकीय स्थल बनाउने उदेश्यसहित मुर्तिको शिलान्यास गरिएको मुल समारोह समिति संयोजक पाल्साङ बज्र लामा तामाङले जानकारी दिए । आउँदो १० वर्षभित्रमा ती मुर्तिहरु स्थापना गरिसक्ने लक्ष्य राखिएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सांसद बानियाँले प्रतिमाहरु स्थापना तथा सो बाटोको स्तरिकरणको लागि आगामी वर्ष बजेटको समेत विनियोजन गर्न आफु तयार रहेको बताए । ‘म वडाअध्यक्ष ज्यूलाई पनि आग्रह गर्छु, मलाई यसबारेमा सम्झाउन नबिर्सनु होला, म आगामी वर्ष यो योजनाको लागि बजेट पार्ने तयारी गर्नेछु’, बानियाँले भने, ‘म यस योजना बारे संसदमा समेत कुरा राख्नेछु ।’

पुस २७ गतेसम्म चल्ने छेवाङ पुजामा परम पुजनीय धर्म गुरु क्याब्जे डुपबोन लामा श्येराव तेन्दर रिम्पोछे सहितका गुरुहरुले श्वस्ति शान्ति पुजा र छेवाङ अभिषेक गर्ने कार्यक्रम रहेको छ । आज महायज्ञ र अन्तरभाव (भार्दो) सम्बन्धी विषयमा धर्मगुरुहरुबाट प्रवचन हुनेछ भने प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यता रहनेछ । त्यस्तै २७ गते अन्तिम दिन मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यतामा परम पुजनीय धर्म गुरु क्याब्जे डुपबोन लामा श्येराव तेन्दर रिम्पोछेद्वारा छेवाङ दिर्घायु अभिषेक कार्यक्रम हुने बताइएको छ ।