रक्षा नेपालले दातृ निकायको सहयोगमा किशोरी समूहलाई एक लाखको चेक हस्तान्तरण

२०७५ पुष २६,बिहीबार ११:१६

मकवानपुर २६ पौष । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं. ७ स्थित रक्षा उज्वल किशोरी समूहलाई एक लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको छ ।

रक्षा नेपालले दातृ निकायको सहयोगमा किशोरी समूहलाई घुम्ती कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरिएकोे हो ।

मकवानपुरसँगै काभ्रेको बेथानचोक, सिन्धुलीको ज्यामिरे, नुवाकोटको कुवरी र ललितपुरको गिम्दीका किशोरी समूहलाई पनि एक–एक लाख रुपैंया प्रदान गरिएको रक्षा नेपालले जनाएको छ ।

कार्यक्रममा रक्षा नेपालकी अध्यक्ष मेनुका थापा, कार्यक्रम निर्देशक रत्नकाजी बज्राचार्य, बकैया गाउँपालिका वडा नं.७ का वडा सदस्य किशोर थापा मगर, स्थानीय जनक माध्यमिक विद्यालयका प्रधानध्यापक धर्मप्रसाद दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।