काठमाडौं-जापान सीधा उडान हुने

२०७५, २६ पुष बिहीबार ०७:०७

काठमाडौं २६ पुस । नेपाल–जापानबीच एक महिनापछि सीधा हवाई उडान हुने भएको छ । बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपाल भ्रमणमा रहेका जापानी समकक्षी तारो कोनोबीच एक महिनापछि प्रत्यक्ष उडान सुचारु गर्ने सहमति भएको हो ।

ज्ञवाली र कोनोबीच कूटनीतिक नोट्स आदानप्रदान भएपछि सीधा हवाई उडान सुचारु गर्ने बाटो खुलेको हो । यो जापानको कानुनी प्रावधान हो । यसअघि ४ असारमा दुई देशबीच हवाई सेवा सम्झौता पुनरावलोकन भएको थियो । पर्यटन मन्त्रालयका अनुसार सो सम्झौताको १.३ प्रावधानमा कूटनीतिक नोट्स आदानप्रदानपछि नयाँ हवाई रुट सेड्युल प्रभावकारी हुने उल्लेख छ । सम्झौताअनुसार सातामा १४ उडान हुनेछ ।

नयाँ सम्झौताअनुसार नेपालका वायुसेवा कम्पनी अब राजधानी टोकियोस्थित हानिदा एयरपोर्टबाहेक जापानका सबै विमानस्थलमा पुग्न पाउनेछन् । नेपाल वायुसेवा निगमले जापानमा उडान विस्तारको तयारी गरिरहेको छ । नेपाल र जापानबीच १७ फेब्रुअरी १९९३ मा द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो ।

सो सम्झौतामा नेपाली वायुसेवा कम्पनीले जापानको ओसाकामा सातामा केवल २ उडान मात्र गर्न सक्ने प्रावधान थियो । सन् २००८ सम्म काठमाडौंदेखि जापानको ओसाका सहरमा सीधा हवाई उडान थियो । ‘नेपाल एयरलाइन्सको सीधा उडान चाँडो सम्भव तुल्याउन म आवश्यक समन्वय गर्नेछु,’ कूटनीतिक नोट्स आदानप्रदान पछि जापानका परराष्ट्रमन्त्री कोनोले भने ।

कामदार पठाउन चाँडै सहमति 
दुई मन्त्रीबीच नेपाली कामदार जापान पठाउने विषयमा पनि छलफल भयो । परराष्ट्रमन्त्री ज्ञवालीले जापानले हालै ल्याएको नयाँ अध्यागमन नीतिअनुसार नेपाली श्रमिक जापान पठाउने विषयमा छलफल भएको बताए । नयाँ व्यवस्थाअनुसार नेपाललाई जापानले कामदारको एक स्रोत मुलुकका रूपमा समावेश गरेको छ । ‘यससम्बन्धी सहयोगपत्र जतिसक्दो छिटो सम्पन्न गर्न हामी दुवै सहमत भएका छौँ,’ ज्ञवालीले भने ।

अन्तर्राष्ट्रिय र क्षेत्रीय मामलामा सहकार्य
ज्ञवाली र कोनोले क्षेत्रीय (इन्डो प्यासिफक क्षेत्र) तथा अन्तर्राष्ट्रिय (उत्तर कोरियाको निशस्त्रीकरण) परिस्थितिबारे पनि छलफल गरेका छन् । अमेरिकी समकक्षी माइक पोम्पियोसँग उत्तर कोरियाको निशस्त्रीकरण, इन्डो प्यासिफिक क्षेत्रको शान्तिबारे ३ पुसमा छलफल गरेका परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार यही विषयमा जापानी समकक्षी कोनोसँग काठमाडौंमा छलफल गरे । दुवैले अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा सहकार्य गर्ने सहमति भएको संकेत दिएका छन् ।

वार्तामा सहभागी एक नेपाली अधिकारीका अनुसार उत्तर कोरियाको निशस्त्रीकरण, इन्डो प्यासिफिक क्षेत्रको सुरक्षा र शान्तिका सम्बन्धमा छलफल भएको थियो । ‘अमेरिकी विदेशमन्त्री र जापानी विदेशमन्त्रीसँग वार्तामा अन्तर्राष्ट्रिय विषयमा छलफल भएको विषय फरक थिएन,’ नेपाली अधिकारीले नयाँ पत्रिकासँग भने ।

ज्ञवाली र कोनोबीच दुई महिनाअघि टोकियोमा पनि उत्तर कोरियाबारे छलफल भएको थियो । टोकियोमा ३ मंसिरमा भएको वार्ताबारे सोही दिन जापानको परराष्ट्र मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख छ, ‘दुवै मन्त्रीहरूले उत्तर कोरियालगायत क्षेत्रीय परिस्थितिबारे विचार आदानप्रदान गर्नुभयो । उत्तर कोरियाको परिस्थितिका सन्दर्भमा दुवै मन्त्रीहरूले कोरियाली प्रायःद्वीपको निशस्त्रीकरणका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा पारित प्रस्ताव पूर्णत पालना गर्नुपर्ने विचार राख्नुभयो ।’

नयाँ पत्रिकामा समाचार छ ।