मकवानपुरे सञ्चारकर्मी ढकालको निधन रहस्यमय, ‘अनुसन्धान हुँदैछ’ : प्रहरी

२०७५ पुष २६,बिहीबार ०६:५१

मकवानपुर २६ पुस । सञ्चारकर्मी मनोहर ढकालको निधन भएको छ । उनको मोटरसाईकल दुर्घटनामा परि निधन भएको अनुमान गरिएपनि के कारणले उनको निधन भएको हो भन्ने पुष्टी अझै हुन सकेको छैन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार उनी बुधबार साँझ हेटौंडाको भैरवडाँडामा अचेत अवस्थामा फेला परेका थिए । उनको टाउकोमा सामान्य चोट लागेको थियो टाउकोबाट केहि रगत बगिरहेको थियो तर शरिरमा खासै ठूलो चोट भने लागेको थिएन । उनको ना ३३ प ६३३८ नम्बरको मोटरसाईकल अलि पर पल्टेको अवस्थामा थियो, अनि उनले बोकेको ब्यागको चेन बन्द गरिएको थियो तर ब्याग भित्रका कागजपत्र भने बाहिर सडकमा छरिएको अवस्थामा थियो ।

उनलाई स्थानिय २ युवाहरुले हेटौंडा अस्पतालसम्म ल्याएका थिए । हेटौंडा अस्पतालले उनलाई बुधबार साँझनै मृत घोषणा गरेको हो । ढकालललाई अस्पतालसम्म ल्याएका २ युवाहरु अहिले मकवानपुर प्रहरीको सम्पर्कमै छन् । उनीहरुमार्फत घटनाको विषयमा थप जानकारी लिने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

त्यसो त ढकालको निधन दुर्घटनाबाट भएको नहुन सक्के अनुमान उनका परिवार र आफन्तले लागाएका छन् । दुर्घटनामा परेका मानिसको शरिरमा खासै ठूलो चोट नलाग्नु शरिरका अन्य भागमा केहि चोट नलाग्नु, कपडा कतै पनि नच्यातिनु जस्ता विषयले दुर्घटनाको संकेत नगरेको उनको आफन्तको भनाई छ ।

प्रहरीले उनको घटनाको विषयमा अनुसन्धान भएपछि मात्रै आफुहरुले यस कारणले मृत्यु भएको हो भन्ने जानकारी दिने बताएको छ । अहिले केहि भन्न नसकिने प्रहरीको जानकारी छ ।

उनको शव हेटौंडा अस्पतालमा राखिएको छ । शवको पोष्टमार्टम रिर्पोट पश्चात मात्रै घटनाको विषयमा थप जानकारी मिल्ने अस्पताल स्रोतको जानकारी छ । उनको पोष्टमार्टम विहिबार बिहान ८ बजेहुनेछ ।

ढकालले मकवानपुरको सञ्चार क्षेत्रमा एक दशकभन्दा बढी समय विताएका छन् । मकवानपुरको शक्ति एफ एम, रेडियो पालुङ् हुँदै अहिले उनी रेडियो अनमोलमा आबद्ध थिए । उनी पदमपोखरीको पान्तलेस्थित बुद्ध माविमा शिक्षण समेत गर्छन् । उनको श्रीमती र २ जना बालबच्चा छन् । उनी र उनका परिवार हेटौंडाको नवलपुरमा बस्दै आएका थिए ।