द्वन्द्वपीडित सुरक्षाकर्मीको माइतीघर मण्डलामा धर्ना

२०७५ पुष २५,बुधबार १२:३६

काठमाडौँ, २५ पौष । द्वन्द्वपीडित सुरक्षाकर्मीले आफ्ना माग प्रहरी र सैनिक ऐनमार्फत सम्बोधन गर्नुपर्ने माग गरेका छन् ।

बेपत्ता सुरक्षाकर्मीहरुका परिवारलाई कम्तीमा दोब्बर राहत दिनुपर्ने, द्वन्द्वपीडित सुरक्षाकर्मीहरुका सन्ततिलाई रोजगारीको सुनिश्चितता गर्नुपर्नेलगायतका माग गर्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघको नेतृत्वमा द्वन्द्वपीडित सुरक्षाकर्मीले आज माइतीघर मण्डलामा धर्नासमेत दिएका छन् ।

धर्नामा सहभागीले ‘अशक्त सुरक्षाकर्मीको उपचारको व्यवस्था गर’, ‘द्वन्द्वपीडित सुरक्षाकर्मीको माग पूरा गर’ र ‘द्वन्द्वपीडित सुरक्षाकर्मीको सन्ततिलाई रोजगारीको ग्यारेन्टी गर’ लेखिएका प्लेकार्ड बोकेका थिए ।