अपडेट : इन्सपेक्टर कुशुवाहलाई थाहै छैन रे आफ्नै मातहतको चेकपोष्टको अशुली !

२०७५, २५ पुष बुधबार ०८:०७
रातोमाटे पोष्टमा सवारी रोकेर चेकजाँच गर्दै प्रहरी ।

 मकवानपुर २५ पुस ।  इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुशुवाहले आफूलाई रातोमाटे चेकपोष्टमा अशुली हुन्छ भन्ने कुराको कुनै जानकारी नभएको बताएका छन् । हिजो तु खबरले रातोमाटे चेकपोष्टमा सवारीसाधन चेकजाँचको नाममा रकम उठाइरहेको समाचार सार्वजनिक गरेको थियो । सो समाचार सार्वजनिक भएपछि निकै आक्रोशित देखिएको इलाका इन्सपेक्टर कुशुवाहले उनी मातहत रहेको पोष्टका प्रहरी कर्मचारीले के गर्छन् भन्ने जिम्मेवारी लिन चाहेनन् ।

त्यतिमात्र होइन, उनले रकम उठाउने काण्डमा संलग्नहरुको छानबिन पनि आफूले गर्न नसक्ने बताए । जिल्लाका डिएसपी साहेबलाई भनेर ती प्रहरीलाई कारवाही गर्न लगाउनुहोस्, उनले भने । स्रोतका अनुसार, इन्सपेक्टर कुशुवाहकै सेटिङमा सो पोष्टबाट अबैध रकम अशुलीको काम भइरहेको छ । उनैले त्यहाँ पैसा उठाउने र आफूलाई बुझाउने सर्तमा प्रहरी परिचालन गरेका स्रोत दावी गर्छ । जिल्ला प्रहरी मकवानपुर प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले प्रहरी निरीक्षक कुशुवाहले गैरजिम्मेवार कुरा गरेको बताए ।

आफू मातहतको प्रहरीलाई ट्रयाकमा चलाउन नसक्नु प्रमुखको कमजोरी हुने उनले बताए । इन्सपेक्टर साहेब पशुपतिनगरको लागि नयाँ भएपनि प्रहरीमा जागीर खाएको लामै समय भएको बताउँदै डीएसपी भट्टराईले यस विषयमा विस्तृत बुझेर मात्र अघि बढ्ने बताए ।