विपक्षी पार्टीलाई भोट दिएको आरोपमा ‘ग्याङ्ग रेप’

२०७५ पुष २४,मंगलवार १०:४२

काठमाडौं २४ पौष । बंगलादेशको हालै भएको संसदीय निर्वाचनमा विपक्षी पार्टीलाई मतदान गरेको आरोपमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ ।

बलात्कार आरोपमा प्रहरीले सत्तारुढ अवामी लिग पार्टीका एक स्थानीय नेता राहुल अमिनसहित सात जनालाई हिरासतमा लिएको छ ।

बलात्कृत ३५ वर्षीया महिलाका चार सन्तान छन् । उनका अनुसार गत हप्ता भएको निर्वाचनमा विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को उम्मेदवारलाई भोट दिएको भन्दै सत्तारुढ अवामी लिगका नेता–कार्यकर्ताहरुले सामुहिक बलात्कार गरे । अभियुक्तहरुले भने बलात्कारको आरोप अस्वीकार गरेका छन् ।

सत्तारुढ अवामी लिगका स्थानीय नेताले आफ्नो पार्टी र आफ्ना समर्थकहरुमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन् । तर, प्रहरीमा उजुरी परेपछि आरोपी राहुल अमिनलाई पार्टीबाट निस्कासित गरिएको छ ।