हिमालपारि ताल जम्ने चिसो

२०७५, २४ पुष मंगलवार ०७:०१

काठमाडौं २४ पौष । हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्न थालेका छन्। तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ। चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै भएको छ।

मुस्ताङमा आइतबार रातिदेखि हिमपात सुरु भएको थियो। सोमबार दिउँसो पनि बेलाबेला हिमपात भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० का जोमसोम स्थित संरक्षण अधिकृत तुलसी दाहालले बताए। उनका अनुसार दिउँसोको तापक्रम पनि माइनस १ डिग्रीमा झरेको छ। सदरमुकाम जोमसोम आसपासका डाँडा र खोंच हिमपातले सेताम्य बनेका छन्।

‘तालको पानीसमेत जम्ने गरी चिसो बढेको छ,’ दाहालले भने, ‘बिहानको चिसो झनै बढी छ। माइनस ७ डिग्रीसम्म तापक्रम ओर्लेको छ।’ उनका अनुसार मंसिर अन्तिम साता उच्च हिमाली भेगमा आंशिक मात्रामा हिमपात भए पनि सदरमुकाम जोमसोम आसपासमा समेत हिमपात भएको सिजनको यो पहिलोपटक हो। ‘पहिलोपटकको हिमपातले यहाँ किसान त खुसी भएका छन्। चिसो बढेर बसाइ असहज बनेको छ,’ उनले भने, ‘पानी जमेपछि दैनिकी अप्ठेरो हुन्छ।’

मुस्ताङका डिएसपी महेन्द्र खड्काका अनुसार रातमा चिसो निकै बढ्ने गरेको छ। ‘सदरमुकाम जोमसोम नजिकैको ढुम्बातालको पानीको सतह जमेको छ,’ उनले भने, ‘तालको पानी जम्नु भनेको यहाँ चिसो कति छ भनेर सहजै अनुमान गर्न सकिन्छ। हिमपात र चिसो हावाले गर्दा चहलपहल छैन।’ उनका अनुसार सदरमुकाम जोमसोम र आसपासका डाँडामा निरन्तर हिमपात भइरहेको छ। सदरमुकाम जोमसोमदेखि नजिकैको आकर्षक पर्यटक गन्तव्य ढुम्बातालको पानी जमेर बरफ बनेपछि त्यहाँ रहेका न्यून पर्यटक रमाएको स्थानीयले बताए।

हिमपातले किसान खुसी भए पनि चिसोले बसाइ असहज बनेको छ। पानी जमेपछि दैनिकी अप्ठेरो हुन्छ।
चिसो बढेपछि बजार र गाउँका धेरै मान्छे सहर झरेका छन्। ‘चिसोको प्रभाव कत्तिको छ भनेर गाउँ बस्तीको अवस्था बुझ्न हामी पनि सदरमुकाम नजिकको गाउँमा आएका छौं,’ खड्काले भने, ‘अधिकांश घर रित्ता छन्। सजिलै हिँड्न नसक्ने बूढाबूढी र केटाकेटी मात्रै छन्। मान्छे देख्न मुस्किल छ।’ अधिक चिसोका कारण जोमसोम र आसपासमा गाडी पनि कम चलेका छन्।
नागरिक दैनिकमा समाचार छ ।