अर्थ समितिद्वारा लेखा परीक्षणसम्बन्धि विधेयक पारित

२०७५, २२ पुष आईतवार १४:३१

काठमाडौं २२ पौष । संघीय संसदको अर्थ समितिले ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ परिमार्जनसहित पारित गरेको छ ।

समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ परिमार्जनसहित पारित गरेको हो ।

समितिका सदस्यहरुबाट प्राप्त सुझावलाई समेत समेटेर सो विधेयक पारित गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

पारित गरिएको विधेयकमा राष्ट्रिय धनमाथि हानी वा नोक्सान भई तत्काल कारवाही गर्नुपर्ने देखिएमा कुनै पनि बेला महालेखा परीक्षकले प्रतिवेदन तयार पारी राष्ट्रपति वा प्रदेश प्रमुखलाई बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

गत श्रावण २१ गते प्रतिनिधिसभाको बैठकबाट सो विधेयक छलफलका लागि समितिमा पठाइएको थियो । समितिले अर्थमन्त्री, महालेखा परीक्षक, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतका सरोकारवाला निकायसँग आवश्यक छलफल गरी सो विधेयक परिमार्जनसहित पारित गरेको हो ।