प्रधानसेनापति थापा पौष २७ मा भारत जाँदै

२०७५, २२ पुष आईतवार १२:४४

काठमाडौं २२ पौष । प्रधानसेनापति पूर्णचन्द्र थापा यही पौष २७ गते भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतीय स्थल सेनाध्यक्ष विपिन रावतको निमन्त्रणामा उनी ६ दिनका लागि औपचारिक भ्रमणमा जाने भएका हुन् ।

प्रधानसेनापति भएपछि यो उनको पहिलो विदेश भ्रमण हो । बिमस्टेकका सदस्य मुलुकहरूका सेनाको सैन्य अभ्यास समापनका क्रममा प्रधानसेनापति थापाले ३० भदौमा भारत भ्रमण गर्ने तयारी अन्तिममा स्थगित भएको थियो ।

संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका तीनजना पर्यवेक्षकका रूपमा सहभागी भए, तर प्रधानमन्त्रीस्तरीय निर्णयअनुसार प्रधानसेनापति थापाको भ्रमण रोकिएको थियो । त्यसको चार महिनापछि प्रधानसेनापतिको भ्रमण हुन लागेको छ ।