मकवानपुर प्रहरीको ढिलासुस्ती, अपराधीलाई मस्ती ! ‘हेटौंडामा सुरक्षा संवेदनशीलता बढ्दै ’

२०७५, २१ पुष शनिबार १५:३५
file photo

मकवानपुर २१ पौष । प्रदेशको राजधानी समेत रहेको हेटौंडामा सुरक्षा संवेदनशिलता बढ्दै गएको छ । चोरीका घटनाहरु दिन प्रतिदिन बढीरहेका छन् । मुख्य बजारमा जडान गरिएका सिसिटिभीको मर्मत हुन नकस्दा झनै समस्या देखिएको छ । जम्मा जडान भएका सिसिटीभी मध्ये ६ वटाले मात्रै कामगर्ने अवस्थामा रहेको स्रोतको जानकारी छ ।  त्यसो त मकवानपुर प्रहरीसंग अनुसन्धानको लागि आवश्यक प्राविधिक उपकरणहरु पनि पर्याप्त मात्रामा छैन । जसका कारण अपराधी सजिलै उम्किरहेका छन् अनि बजारमा सुरक्षा संवेदनशिलता पनि बढ्दै गईरहेको छ ।

गत भदौमा हेटौंडाको ३ स्थानमा चोरीका घटना भए । भदौ १४ गते एकैराती ३ स्थानमा चोरी भए । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयबाट रु ६१ हजार ५० चोरी भयो । त्यस्तै सोहि दिन हेटौंडाको राप्तीरोडमा रहेको साथीको मनी ट्रान्सफरबाट ७० हजार नगद र रिचार्ज कार्डहरु समेत गरी जम्मा १ लाख २५ हजारभन्दा बढी रकम चोरी भयो ।
हेटौँडा–१० टिसिएनरोडमा रहेको एसबिआई बैंकको सटरको ताला फोडेर रकम लुट्नै प्रयास समेत भयो ।

प्रहरीको बाक्लो गस्ती हुने हेटौंडा बसपार्क क्षेत्रनजिकै ३ स्थानमा चोरीहुँदा समेत प्रहरीले सुईँको पाएन । चोरी भएको स्थानहरु जिल्ला प्रहरी कार्यालय मकवानपुरको करिब एक सय मिटर  वरपर छन् । चोरीका घटना र सिसिटिभी फुटेज हेर्दा चोर्ने समुह पनि एउटै जस्तो देखिन्छ । तु खबरले चोरीको घटना पश्चात सिसिटिभी क्यामेरामा कैद भएको चोरको तस्वीर समेत सार्वजनिक गरेको थियो । पीडितले चोर पत्ता लगाईदिनुपर्यो भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी समेत दिएका थिए । तर प्रहरीको ढिलासुस्तीका कारण ४ घटना घटेको ४ महिना बितिसक्दा समेत चोरलाई आवश्यक कारबाही भने हुन सकेको छैन ।

प्रहरी स्रोतका अनुसार उक्त विषयमा अहिले प्रहरीले कुनै एक्सन लिएको छैन पीडितहरु पनि आफुहरुलाई कुनै जानकारी प्रहरीले नगराएको भन्दै गुनासो गरिरहेका छन् । ‘प्रहरीको गतिविधि निकै सुस्त छ । कसैले वास्ता गरे उजुरीका फाईल अघिबढ्छ नत्र दराजमा थन्किएर बस्छ । ’ प्रहरी स्रोतले भन्यो ।

यस विषयमा तु खबरले मकवानपुरका डिएसपी यज्ञप्रसाद भट्टराईलाई उक्त घटनाको विषयमा प्रहरीले केहि जानकारी पायो भनेर प्रस्न गर्दा आफुलाई सो विषयमा जानकारी नभएको बताए । उनले आईतबार आफुले हेरेर जानकारी दिने बताए ।

हेर्नुहोस् जिल्ला प्रहरी कार्यालय मकवानपुर वरपरका ३ स्थानमा भएको थियो एकैरात चोरी