महोत्तरीमा आगलागी हुँदा ९ लाख बराबरको धनमाल क्षति

२०७५, २१ पुष शनिबार १४:४६

जनकपुर २१ पौष । महोत्तरीको विभिन्न स्थानमा भएको छुट्टाछुट्टै आगलागीको घटनामा ९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

गएराती महोत्तरीको भङ्गाहा नगरपालिका–६, हतिसर्वा बस्ने उमेशप्रसाद यादवले लगाएको दुई बिघा क्षेत्रफलको उखु खेतमा आगलागी हुँदा करिब ८ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पिडित यादवले कसैले रिसइबीका कारण आगजनी गराइदिएको आरोप लगाएका छन् ।

त्यस्तै जिल्लाको सोनमा गाउँपालिका–३ बस्ने रामबहादुर सहनीको पोखरीको डिलमा रहेको पानी तान्ने मोटर घरमा विद्यत सर्ट भई आगलागी हुँदा मोटरघर र मोटरसमेत जलेर २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोनमा गाउँपालिका–४ बस्ने रामकिशोर शाहको दुई परालको कुन्यूमा आगलागी हुँदा २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाको गौशाला नगरपालिका–२ निगौल बस्ने शेष कलामको घर नजिकै रहेको दुई बिघा खेतको परालमा आगलागी हुँदा करिब ६० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।