पुरुषोत्तम लम्सालको धारणा : रामबहादुर बम्जन यसकारण ‘मनोरोगि’ हुन् !

२०७५, १९ पुष बिहीबार १५:०८

काठमाडौं १९ पौष । एउटा केटो ६ महिनाअघि घरबाट हिँड्यो । ६ महिनापछि झ्याप्लांग केश पालेको अनुहार, अस्वाभाविक हुलियामा कतै भेटियो । वरपरकाले ‘तपस्वी’ भनिदिए । सबैले पत्याइदिए । ६ महिनासम्म ऊ कहाँ थियो र कोसँग थियो । कसैले सोधीखोजी गर्ने, जाँच्ने काम गरेनन् ।

जहाँ जुन हुलियामा भेटियो । त्यही हुलियालाई आधार मानेर सबैले ‘तपस्वी’को पद्वी भिराइदिए, पत्याए । केटो बसेको स्थल ‘तपस्यास्थल’ भनेर प्रचारित भो । ध्वजापताका झुण्ड्याउने काम भो । सुरक्षाका नाममा तारबार बाँध्ने काम भो । भन्न थालियो, ‘नयाँ बुद्ध भेटियो !’

महिनौँदेखि अन्न नखाएको र पानीसमेत पिएको छैन भनेर कसैले भनिदियो । केटो निराहार बसेको कसैले तीन महिना भने, कसैले ६ महिना भने र कसैले १० महिना पनि भने । सबैले पत्याए । जुन कुरा आधुनिक विज्ञानले पत्याउँदैन, जुन कुरा मानवविज्ञानको हकमा सम्भव छैन । त्यो पनि सबलाई दूधभात जस्तै भो, स्वाद मानिमानी ग्रहण गरियो । प्रयोगशालामा नउभिएरै केटोले जित्यो । शरीरमा हुने ऊर्जाको न कसैले गणना गरे न केटोले कुन गुप्त माध्यमबाट ऊर्जा संकलन गरिरहेको छ भनेर खोजे । हल्लैहल्लामा केटोको देवत्वकरण भो ।

असम्भव र अविश्वसनीय कुराको परीक्षण गराउनुपर्छ भन्दा एउटा झुण्ड बुरुक्क उफ्रियो । भण्डाफोर हुन पर्ने तर केटोको ध्यान भंग हुन्छ भन्दै टारियो । टारिदियो । हो न हो, झुण्डको कसैले भनिदियो, केटोको शीर पछाडि अप्राकृतिक सूर्यको सौर्य देखिन्छ । हैट ! त्यो पनि पत्याएर बाइलाइन समाचार आए । स्वदेश रमायो, विदेश आश्चर्यचकित भयो । बारा डेटलाइनमा उपेन्द्र लामिछानेहरु, भगिरथ योगीहरु, बेल थोमसहरु, स्याम टेलरहरु छाइरहे । केटो आफू बुद्ध हुन अझै केही समय लाग्ने तर रिम्पोछेंको तहमा आइपुगेको बताउन थाल्यो, त्यो पनि दुनियाँले पत्याइदियो ।

केटो खुफिया बन्दोबस्तीमा रमाइरह्यो । केटोका झुण्डले ध्यानको बहाना र बाजा बजाइरह्यो । अनि त केटोको इष्टबाहेकका मान्छे वरिपरि पुग्न निषेध भयो । तपस्वीको नाममा वैंश चढेको केटो तरुनी च्याप्दै हिँड्ने भयो । मान्छेहरु भन्न थाले अब तरुनीलाई ‘आशीर्वाद’ र ‘प्रसाद’ मिल्छ । केटो युवतीको ‘परीक्षण’ गर्दथ्यो । एकचोटी ‘परीक्षण’मा सफल भइसकेपछि केटो नियमित ‘परीक्षण’ गर्दथ्यो ।

केटो महिनामहिनामा पटकपटक गायब हुन थाल्यो । केटोको अस्थिरता र चञ्चलतालाई मान्छेले ध्यानस्थल परिवर्तनको व्याख्या गरिदिए । हराएको बुद्ध भेटियो भनेर देशी विदेशी सञ्चारमाध्यमले फुके ।जसले आफूलाई चिन्नसकेको छैन । त्यसले दुनियाँ चिन्छ भनेर पत्याउने हाम्रो जस्तो समाज अन्त विरलै भेटिन्छ । जति सन्देह बढ्दै जान थाल्यो । त्यति केटोको लीला बढ्दै गयो । स्वाभाविक हो, मात–उन्माद बढ्दै गयो । अहंकार बढ्दै गयो । आफ्नै संगठित झुण्डको बलमा केटो बञ्चरो लिएर गाउँलेमाथि आक्रमण गर्ने हदसम्म पुग्यो, मान्छेले सानो बुद्ध रिसाए भनेर टारे । आक्रामक, अनियन्त्रित, आवेगमा रमाउने बुद्ध नामको भ्रमको साक्षात्कार गाउँलेले गरे तर गाउँलेको वर्णनभन्दा केटोको वरपरको झुण्डको आवाज ठूलो भयो । केटो भन्न थाल्यो, म दैवी कानुनअनुसार कारबाही गर्छु । अनि केटो गाउँलेको समूहलाई नै घन्टौँ अपहरणमा लिने तहमा पुग्यो तर तन्द्रा भंग भएको पत्याएर राज्यको बर्दी भिरेका प्रहरी लुरुलुरु बाटो लाग्यो ।

हुँदाहुँदा नयाँ धर्मको आवरणमा केटोको प्रशस्ती गाउन थालियो । दुनियाँ जतिसुकै बलियो र सम्पन्न किन नहोस्, धर्म नामको तत्व ती सबलाई वेबकुफ बनाइरहेको हुन्छ । भयो । वेबकुफै भए सबै ।

केटो घुम्दै घुम्दै भीडमा जम्यो । केटोको नाममा आश्रम नामाकरण भो । धनीले त हम्मेसी दान दिँदैनन्, गरिब र निमुखाले अवतार मानेर केटोको नाममा दान दिन थाले । पैसो चढाउन थाले । द्रव्य संकलन जसै हुन थाल्यो । केटो वरिपरिको झुण्ड केटो र बाहिरी मान्छे दुवैलाई नियन्त्रण गर्ने तहमा पुग्यो ।

केटो भविष्यवाणी गर्ने तहमा पुग्यो । दाबी गर्ने तहमा पुग्यो । जसै विषय एवम् सन्दर्भ नजिक आयो, केटो टाप दियो । बेपत्ता भो । सुइँकुच्चा ठोक्यो । केटो भन्न थाल्यो खोयाको बुद्ध ? को बुद्ध ? म मन लागेको गर्ने मान्छे हूँ, तैँले सकेको तँ गर । केटोले दयाको, मायाको, करुणाको, सत्संगको, ध्यानको, जपको, तपको, सांसारिक संसारको, मायावी संसारको, भयको, मुक्तिको न सूत्र दियो, न उपलब्ध सूत्रको व्याख्या दियो न साधन, तैपनि मान्छेले केटो चमत्कारी छ भन्न छाडेन । धेरै सजातीय र थोरै विजातीय समूह केटोको नाममा डम्फू बजाउन अभ्यस्त भयो । केटोको छद्यभेषी आडमा केहीले सृष्टि विनाश हुनबाट बचाउन नयाँ बुद्ध आयो भने, केहीले पत्याए । तिनकै लोलीमा बोली मिलाउने कम भएनन् । जसले पत्याएन, ऊ एक्लिने परिस्थति बन्यो ।

जम्मा भएको पैसा र दानबाट जग्गा किन्दै टहरा बनाउँदै आश्रमको खेती शुरु भयो । त्यसको पारदर्शिता न समाजले माग्यो न राज्यले । धर्मको आवरण दिएर द्रव्य संकलन गर्नभन्दा सजिलो पेशा दुनियामा अर्को छँदै छैन । संस्थागत लुटको अनुमतिप्राप्त बाटो भनेकै धर्म हो ।

केटोको वरिपरी रहेको र केटोलाई नियन्त्रणमा राख्ने तर उसले भनेको पूर्ति गरिदिने समूह सामाजिकरुपमै शक्तिशाली बन्दै गयो । केटोलाई आश्रमैपिच्छे नयाँ नयाँ तरुनी चाहिने भयो । युवती चाहिने भयो । केटी चाहिने भयो । केटोलाई स्त्री भोगको लत लाग्यो । आश्रम फेर्दै तुष्टि लिने कूलत लाग्यो । आपूर्ति गर्न झुण्ड छँदैथियो । निमुखा अनुहार हिंसा र प्रताडनाको डरले बोल्दै बोलेन, बोल्नै सकेन । जो बोल्यो–सकियो । फिनिस्ड । दुराचारको भट्टीमा झोसिएपछि चिच्याएर न्याय माग्ने सामथ्र्य विरलै हुन्छ । त्यस्तै भयो ।

झन अस्ति एकजना हरायो । त्यो भन्दा अस्ति अर्को एकजना हरायो, अस्ति फेरि दुई जना हराएको थियो भनियो । तर को हरायो, खबर मात्र आयो, कसरी हरायो, खबर आएन ? किन हरायो, खबर आएन । केटोको बिजनेसको ठेक्का लिएकाहरुले सबका सबलाई अवाक बनाएर पठाए । न तार, न चिठी भएर जो जो आए, खाली हात गए । तर बोल्न नसक्ने भएर गए ।

केटोले अरुले जस्तै युवावयमै प्रेमिका प्राप्त गर्यो । औसत उमेरमै गृहस्थाश्रम प्रवेश गर्यो । प्रेमिका पत्नी भइन् । पत्नीबाट सन्तान भयो । केटोको भोग पनि चलिरह्यो, विलास पनि चलिरह्यो, ऐयास पनि चलिरह्यो । खुफिया धन्दा पनि चलिरह्यो । केटोको नाममा बिजनेस गर्नेहरुले नाफा राम्रै गरे ।

भारतमा बलात्कार र हत्याको आरोपमा गुर्मित रामरहिम सिंहले नाम कमाए, हत्या गरेर आशाराम बापु कारागारको अतिथि भए, आशारामको छोरा बाउका शिष्य बलात्कार गर्न अभ्यस्त भए र बाउको नाममा जोडेको ५ अर्बभन्दा बढी सम्पत्तिको मालिक भए । राधे मा नामको औतारी महिला उत्पत्ति भइन् । कबीरको उत्तराधिकारी दाबी गर्ने हत्याआरोपी सन्त रामपालको धुलाइ भो । नेपाल र भारतमा आचार्य र स्वामीको बजार चुस्त छ, दुरुस्त छ, पुष्ट छ । डिस्को बाबा भनेर चिनिने स्वामी सच्चिदानन्दका नेपाली फ्यान पनि छन् । अपहरण र गैरकानुनी धन्दा चलाउने मल्खान सिंह पनि बाबा नै हुन्, अखडा र कोठी चलाउने आचार्य कुशमुनी पनि बाबै हुन्, मसाज पार्लर र सेक्स र्याकेट चलाउने इच्छाधारी भीमानन्द पनि बाबै हुन् । झन् निर्मलबाबा नामका प्राणीको त के कुरा गर्नु । तर के गर्नु संसार मायावी छ । तिनै बाबाका हूलमा एउटा नेपाली केटोले नाम लेखायो त के भो ?

हाम्रो समाजले त्यो केटोमा मनोरोगकै एउटा किसिम ‘पर्सनालिटी डिसअर्डर’ हुनसक्छ भनेर कहिल्यै जाँचेन । अरुको भाव र भावनालाई पटक्कै अस्वीकार गर्ने र आफ्नो सर्वोच्चता देखाउन आपराधिक मनोग्रन्थीको पनि प्रकटीकरणको हदसम्म पुग्ने युवामा ‘एन्टी–सोसियल पर्सनल डिसअर्डर’ हुनसक्छ भनेर खोजी नै भएन । यो खोजी भइदिएको हुँदो हो त आक्रमक वृत्तिको किशोर न आफूलाई बुद्ध भन्दै जंगलमा भौँतारिनु पथ्र्यो, न बुद्धको आवरणमा एउटा गिरोहले उसमाथि हैकम जमाउँथ्यो ।

अहिलेको युगमा पुराण र शास्त्रमा जस्तो दैवी किरण आएर ज्ञान प्राप्त भएको, कुन्तीलाई सूर्यले सम्भोग गरेर कर्ण जन्मिएको जस्ता कुरा बकबास हुन् । पन्ध्र वर्षको किशोर, उसको अभिभावकको पृष्ठभूमि, साथीसंगीजस्ता वातावरणमा उसभित्र चामत्कारिक ज्ञान र गुण नभएको थाहा हुँदाहुँदै उसैको देवत्वकरण भो । न ज्ञान आर्जन गरेको पुष्टि छ, न ज्ञान बाँडेको । अनि भनियो, मैत्री धर्मका अवतार । हैट !

व्यक्तित्वको नाटकीय असन्तुलन देखिनु रोग नै हो । अंग्रेजीमा एउटा शब्द रहेछ नार्सिसिष्ट (narcissists) । नार्सिसिष्टले पृथ्वी र संसार दुवैले उसलाई परिक्रमा गरिरहेको ठान्दो रहेछ । अर्थात् नार्सिसिष्ट भएको व्यक्तिले आफूलाई पृथ्वीको केन्द्रमा भएको मान्दारहेछन् । र, मनोविज्ञानले पनि यसलाई नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर (narcissistic Personality Disorder) नाम दिएको रहेछ । यो रोग लागेपछि अरुको अस्तित्व वा अरुलाई महत्व दिनुभन्दा आफूलाई महत्व दिन र देखाउन व्यक्ति तल्लीन हुनेरहेछ ।

सबै बानीव्यहोरामा, वर्णन र उदाहरणमा, घटना र परिवेशमा देखिन्छ, तर हामीले त्यो केटोलाई नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर रोगको कसीमा जाँचेनौँ ।

मनोरोगीलाई परामर्श दिने संस्थाहरुको भाषामा त्यस्तो रोगलाई अनियन्त्रित आनीबानी (Eratic Behaviour) बाट विश्लेषण गरिने रहेछ । यसमा कुनै व्यक्ति असामान्य वा अप्राकृत्रिक रुपमा जिद्दी देखियो भने, उसको आक्रामकताको असन्तुलन देखियो भने, उसको व्यवहार सामाजिक अन्तक्रियासँग मेल खाएन भने तुरुन्त उपचार गराउनपर्ने रहेछ । तर, यी सबै दृष्टान्त देख्दादेख्दै केटोलाई सबैले फुक्काफाल छाडिदिँदा प्रारब्धले बदलिने अवसर पाएको देखिन्छ ।

केटोको स्वभाव र चरित्रको धेरै वर्णनमा ‘यौन’ उल्लेख छ । उसको कामोत्तेजक आकर्षण, हावभाउ, स्त्री परिक्रमा, अवसरको खोजी, साधनको खोजी, स्थानको खोजी प्रशस्त देखिन्छ । यस्तो अवस्थामा अभिनय जस्तो गरे पनि उसको लक्ष्य भनेको विपरीत लिंगीलाई नियन्त्रणमा लिनु हुन्छ । यो व्यवहार जंगलमा मात्र हुने होइन, समाजमा पनि हुन्छ, कार्यालयहरुमा पनि हुन्छ । तर यस्तो हुनुमा पनि व्यक्तिभित्र बढ्दै गएको मानसिक रोग जिम्मेवार हुने रहेछ । यो रोगलाई हिस्ट्र्यिानिक पर्सनालिटी डिसअर्डर (Histrionic Personality Disorder) भनिने रहेछ ।

आफूले सोचजस्तो नभए आक्रामक हुने, भावनात्मक स्थिरता नहुने गुण केटोमा प्रशस्त पाइन्छ । यो रोग लागेको व्यक्ति तृप्तिपछि वा यौन सन्तुष्टिपछि पूर्ववत् सामान्य अवस्थामा आइपुग्न समय लाग्दैन । अर्थात् केटो चेतन र अवचेतन मनमा रहेको विकारको शिकार भएको हुन सक्छ कि सक्दैन भनेर न कसैले छलफल गरे, न परीक्षण गरे । मनोचिकित्सा पद्दतिबाट केटोको परीक्षण त्यतिबेलै हुँदो हो त दुनियाँ यतिधेरै वेवकुफ बन्नु पर्ने थिएन ।

मनोविज्ञानभित्र आफ्नै झूठहरुमा गहिरो विश्वास राख्नु पनि एक किसिमको रोग नै रहेछ । यस्तो रोग लागेको व्यक्तिलाई संसारमा अनिष्ठै अनिष्ठ र विपत्ति नै विपत्ति छ भन्ने लाग्दोरहेछ । यसको मुक्तिका लागि आफू मात्र योग्य देख्ने दृष्टिदोष वा भ्रम हुने रहेछ । र, मनोरोगका परामर्शदाताहरु सम्मोहनको युक्तिद्वारा पनि व्यक्तिमा यस्ता विचार रोपण गर्नसकिने सम्भावना देख्दा रहेछन् । साँच्चै, केटोलाई कसैले यो रोगको शिकार बनायो ? सवाल महत्वपूर्ण र संवेदनशील छ । किनकी, केटोलाई बाहिरी समाजसँग अति सीमित अन्तक्रियामा राखिएको छ । केटो अन्तरंग वृत्तबाट बाहिर निस्किएकै छैन । देशाटन र विदेशाटन पनि एउटा हौवा मात्र हो भन्ने कुरा यो बाह्र वर्षमा पुष्टि भइसकेको छ । अर्थात्, एउटा किशोरको रोगको फाइदा उठाउने संगठित र नियोजित प्रपञ्चका सम्भावना पनि त छन् !

अर्थात् अहिले त्यो केटोमाथिको आरोप र अभियोग सामुदायिक हैन, व्यक्तिगत एवम संगठित अपराधलक्षित हो । धर्मका नाममा खुलेको दूराचार कारखानाविरुद्ध हो । बलात्कार, हत्या र बेपत्ताविरुद्ध हो ।

सम्भवतः मनोरोगीको आवरणमा महासम्बोधि, मैत्रीय, बोधी आनी इत्यादि जस्ता शब्द र बुद्धको दर्शनको पृष्ठभूमि प्रयोग भएको छ ।

केटो अपराधी हो कि होइन ? त्यो प्रमाणित गर्ने जिम्मा प्रहरी र न्यायालयको हो, बौद्धजनको होइन, तामाङको पनि होइन, शेर्पा वा क्षेत्रीको पनि होइन । यसको छानबिन नेपाल सरकारले यथाशीघ्र नगरी सुखै छैन । मान्छे बेपत्ता हुनु, यौनजन्य हिंसा हुनु गम्भीर बिषय हुन् । निर्मला पन्तको प्रकरण जस्तै हो यो पनि । फरक त्यहाँ अपराधी लुकाइएको छ, यहाँ पीडितको अत्तोपत्तो छैन र आरोपी बचाउन जात, धर्म र समुदाय उचालिँदैछ । अपराधको जात अपराध नै हो, गोत्र पनि अपराधी नै हुन्छ । तर केटोमाथि मनोचिकित्सकीय कोणबाट पनि अध्ययन हुनपर्ने प्रशस्त कारण देखिन्छन् । दोषी करार नै भए पनि रोगीको उपचार सम्भव छ, केटोले कानुनी सुधार गृहबाट उपचार पाइहाल्छ ।

त्यो केटो त्यही रामबहादुर बम्जन उर्फ पाल्देन दोर्जे हो, जसका विरुद्ध चार–चारजनाको हत्या र बेपत्ताको अभियोगमा उजुरी परेको छ ।

जनता समाचारबाट