चिनी विक्री नहुँदा गोदाममा थन्कियो

२०७५, १६ पुष सोमबार १४:१८

विराटनगर, १६ पौष । नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी बिक्री नभएर थन्किएको छ ।

सुनसरीको बर्जु गाउँपालिका–५ स्थित प्रदेश नं १ को एक मात्र इस्टर्न सुगर मिलबाट गएको वर्षमा उत्पादन भएको चिनीमध्ये ३४ हजार मेट्रिकटन चिनी गोदाममा थुप्रिएको छ । मिलमा एक लाख सात हजार मेट्रिकटन चिनी उत्पादन भएको थियो ।

नेपालमा एक वर्षमा सरदर दुई लाख ३५ हजार मेट्रिकटन चिनी आवश्यक पर्नेमा बाहिरी मुलकबाट दुई लाख ५० हजार मेट्रिकटन चिनी आयात भएका कारण मिलमा उत्पादन भएको चिनी विक्री हुन नसकी बिग्रिने अवस्थामा पुगेको र यसबाट स्वदेशी उद्योग र कृषकलाई समस्या परेको मिलका वित्त प्रबन्धक विएम गुुप्ताले जानकारी दिए ।–रासस