मनहरी गाउँपालिकाका अध्यक्ष उप्रेतीलेनै मनहरी बहुमुखी क्याम्पसको पनि नेतृत्व गर्ने

२०७५, १४ पुष शनिबार १९:५८

मकवानपुर १४ पुस । मनहरी बहुमुखी क्याम्पस सञ्चाल समितिको अध्यक्ष पदमा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती चयन भएका छन् ।
शनिबार भएको दोस्रो क्याम्पस सभामा उप्रेती निर्विरोध रुपमा अध्यक्ष पदमा चुनिएका हुन् । क्याम्पसको विधान बमोजिम कूल १५ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष गोविन्द रिजाल, कोषाध्यक्ष नवराज सुवेदी चयन भएका छन् ।
सदस्यहरुमा हेमलाल उप्रेती, सन्जीव पाठक, निर्मला हिमडुङ, प्रल्हाद लम्साल, प्रकाश बर्ताैला रहेका छन् । अन्य सदस्यहरु विधान बमोजिम पदेन सदस्य रहने व्यवस्था छ । यसअघिका अध्यक्ष खुसीलाल मुक्तानको सभाध्यक्षतामा भएको क्याम्पस सभामा सभासदहरुले निर्विरोध रुपमा सञ्चालक समितिको चयन गरेका हुन् ।

क्याम्पस सभाको उद्घाटन गर्दै ३ नं प्रदेश संसदका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले शैक्षिक विकासमा मनहरी बहुमुखी क्याम्पसको ठूलो योगदान रहने भएकाले यस भेगका सामाजिक अगुवाहरुले ध्यान दिएर अघि बढ्नुपर्ने बताए । उनले सामाजिक संघसंस्थामा राजनीतिक हिसाबले नेतृत्व गर्नुभन्दा पनि सामाजिक हिसावले अघि बढ्न सबैलाई अनुरोध गरे ।