भैँसीको घ्यू – घान्द्रुक

२०७५, १४ पुष शनिबार ०६:५९

सिएम रिमाल
हेटौँडा–५

मकवानपुर १४ पौष । जीवन भनेको नै अनेकौँ सुख दुःखको यात्रा हो । जीवनको यात्रामा झरी बादल, उकाली ओराली आउनु कुनै अनौठो कुरा पनि होइन । अनगिन्ति भञ्ज्याङ र चौतारीलाई पार गर्दै ठूल—ठूला जङ्घार, खोला, पाखा, पखेरालाई मित्रतामा परिणत गर्दै अगाडि बढ्नु चुनौति पनि त हो । कुनै रहरले त कुनै कहर अनि कुनै मनोरञ्जनले विभिन्न यात्राहरूमा होमिनु पर्ने रहेछ । जीवनको महत्त्वपूर्ण यात्रामा निस्कनुको मज्जा बेग्लै हुँदो रहेछ अनि पैसाले कतिपय यात्राहरु पनि किन्न नसकिने रहेछ ।
हो, त्यस्तै यात्राका लागि हामी यानिकि नवोदय शिशु सदनका कक्षा १० मा अध्ययनरत् २८ विद्यार्थी तथा विद्यालय निर्देशक दिपेश जोशी, प्रशासक प्रमुख सुरज बस्नेत, अङ्ग्रेजीका सुपेरिबेक्षक मनोज लामा,सचिता पाण्डे, वर्षा थापासहित पोखरा हुँदै घान्दु्रकसम्मका लागि लाग्यौँ । बिहानको चिसो चिसो मौसममा उठ्नुपर्ने बाध्यता थियो हामीलाई तर निद्रादेवीले चाँडै छाडेकाले सहज बनाइदियो । ०६ असोज २०७५ को बिहान ७ : ३० बजे हामीले नवोदयबाट पहिलो रातका लागि पोखरातिर गन्तव्य बनायौँ । बिचबिचमा अन्ताक्षरीले यात्रालाई सहज बनाएको थियो । मैले गीत गाउँदै गर्दा दिपेश सरले अब तपाईँको पाला छैनसम्म भन्न भ्याउनु भयो । बस्ने खाने पहिले नै बन्दोबस्त भएकाले त्याँहा जाने बित्तिकै भारी बिसाउन पायौँ । दिउँसोको खानापछि हामी हेर्नपर्ने ठाउँ अन्तर्राष्ट्रिय प्रर्वतीय सङ्ग्रहालय पुग्यौँ । त्यहाँ पर्वतीय पर्यटनसँग जोडिएका कला, संस्कृति, भेषभूषा र वस्तुहरु प्रर्दशनीमा राखिएको रहेछ । त्यसपछि हाम्रो भ्रमण टोली डेभिड फल्सतिर हानियो । फेवातालको पानी डेभिड फल्सको गल्छीबाट गुप्तेश्वर गुफा हुँदै सेती नदीतर्फ हानिएको रहेछ । वर्षामा ठूलो पानीको भेल आएझैं गल्छीभित्र पस्दा देखिने पानीको फोहोरा र त्यहाँबाट निस्कने बाफ साँच्चिकै लोभलाग्दो रहेछ । त्यहाँ नजिकै रहेको गुप्तेश्वर गुफा नघुमी त चित्तै बुझेन ।

निकै गहिरो खाल्डामा रहेको त्यस गुप्तेश्वर महादेवको दर्शन गर्न र गुफाभित्र मज्जाले रमायौँ । कतै कतै डर पनि लागिरहेको थियो अध्याँरोले । गुफामा रहेको मन्दिरबाट अझै अगाडि बढे डभिड फल्सको पानी देख्न सकिँदो रहेछ । एक किलोमिटरभन्दा लामो रहेको गुप्तेश्वर गुफा साच्चै अनौठो रहेछ । अध्याँरो झमक्क भइसकेकाले ६ गतेको घुमाइलाई विश्राम दियौँ । गाडीको थकाइ तथा केही स्थानको घुमाइले हामीलाई थकान बनाएको थियो । क्याम फायर भन्ने बित्तिकै सबै विद्यार्थीहरु उत्सुक हुँदै तल झरे । त्यसपछि सुरु भयो साङ्गितिक साँझ ।

बिहानको चारै नबजी सुरज सरले सबैलाई सराङ्कोट जान उठाउनु भयो र अध्याँरामै लागियो । पोखराबाट उत्तर–पश्चिममा रहेको अग्लो डाँडामा रहेछ । पोखरा पुगेपछि सराङकोट पुग्नैपर्ने ठाउँ पनि रहेछ । यहाँबाट पोखरा र लेखनाथ शहर सिङ्गै देख्न सकिन्छ । साथै, आँखै अगाडि माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी लगायतका हिमशृङ्खलाहरुको अवलोकन गर्न पाउँदा निकै उत्साहित थिए विद्यार्थीहरु अझ त्यसमा सूर्यको पहिलो किरण पर्दाको अवस्था त साच्चै लोभलाग्दो नै हुने रहेछ । सराङकोटबाट पोखरा आसपासमा रहेको मनमोहक हरियाली वन देखियो । प्याराग्लाइडिङ र जिप फ्लाईसमेत सराङ्कोटबाट नै हुने गर्दो रहेछ । यहाँ दैनिक हजारौं स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्दा रहेछन् । पछिल्लो समय सराङकोट पोखराको मुख्य पर्यटकीय गन्तव्य बनेको छ ।

त्यसपछि पोखरामा रहेको नेपालकै चर्चित मन्दिर विन्दावासिनी लाग्यौँ । विन्दवासिनी मन्दिरमा भक्तजनको ठूलो भिड लाग्ने रहेछ । अग्लो स्थानमा रहेको मन्दिरबाट पोखराको शहर सुन्दर देखिन्छ । विन्दावासिनी मन्दिर आफैँमा पनि सुन्दर र सफा रहेको छ । बिहानको खाजा पछि फेरि हानियो हाम्रो टोली पोखराको पहिलो आकर्षण फेवाताल । पोखरा घुम्न आउने कोही पनि फेवातालमा बोटिङको मज्जा लिन छुटाउँदा रहेनछन् भने हामी किन छुटाउने भन्दै तीनवटा डुङ्गा लिएर लाग्यौँ तालभित्र । फेवातालको बीचमा रहेको तालबाराही मन्दिरले आकर्षण थप्नुका साथै डुङ्गामा २ घण्टा सैर गर्नुको मज्जा नै बेग्लै भयो । फेवातालमा माछापुच्छ्रे हिमालको छायाँ देखिँदो रहेछ र त थुप्रै नव जोडीहरु पनि जान आतुर मान्दा रहेछन् । जुन अत्यन्तै मनमोहक हुने गर्छ । फेवातालमा बोटिङ मात्र नभई फिसिङसमेत गर्न पाइने रहेछ । त्यसपछि पुनः होटल सबलाइममा खाना खान गयौँ र केही बेरको विश्राम पछि लाग्यौँ महेन्द्र गुफातिर । घना जङ्गलको छेउमा अवस्थित चमेरो र महेन्द्र गुफा पुग्दा रोमाञ्चकारी अनुभव भयो हामीलाई ।

गुफाभित्र प्रवेश गर्दा कोही–कोही अत्तालिँदा पनि रहेछन् । साच्चै पोखरा माथिल्लो मुस्ताङ, मुक्तिनाथ, पुनहिल, अन्नपूर्ण वेस क्याम्प, गुरुङहरुको सुन्दर वस्ती रहेको घान्द्रुक लगायतका विभिन्न स्थानमा ट्रेकिङका लागि प्रवेशद्वार समेत रहेछ । बिहानको खाजा लिए लगत्तै लाग्यौँ घान्द्रुकको गुरुङ बस्तीतिर । नयाँपुल पुग्दा बिहानको दस बजेको थियो । अब खुट्टा दह्रो पारेर हिँडन सबै आतुर थिए । कोही केटीहरुका आफ्नै समस्याले गर्दा हिँडन निकै कठीन नभएको त कहाँ हो र । तैपनि अब आयो भन्दा भन्दै स्याली बजार पुगियो र खानाको बन्दोबस्त त्यही गरियो । भैसीँको ताजा घ्यूको मज्जा नै बेग्लै थियो । दाल हालेको जस्तरी डाडुले हालेको मात्र के थिएँ दिपेश सरको गालीसमेत खान पुगँे । तीन जनाको टोली हिँडन नसक्ने र सुरज सरलाई बसमा चढाएर लाग्यौँ फेरि घान्द्रूकतिर । ४० ओटा हाजमोला क्याण्डीले काम नगरेर बिचबिचमा चुइगम किन्दै यात्रालाई छोट्याउँदै थियौँ । जब ढुङ्गाको सिँढी उक्लने पर्ने भयो सबैको बाह्र बज्यो चढ्न । कतैकतै “मलाई कापी किन्न पैसा दिनु न” समेत भन्न भ्याउँदा रहेछन् त्यसतिरका केटाकेटीहरुले । बाटामा हिँड्ने जो कोहीलाई सोध्नसमेत पछि परेनौँ “अब कति छ भनेर ?” कहिल्यै त्यति नहिँडेकालाई कतै थकान थियो भने कतै मज्जा । साँझ पाँच बजेतिर लखतरान हुँदै सबै पुग्यौँ होटल अन्नपूर्ण । चिसोको मौसलले होला जाने बित्तिकै चिया खान पनि पाइयो । साँझमा पनि हिमालको दृश्य मनमोहक देखिँदो रहेछ ।

गण्डकी अञ्चल, कास्की जिल्ला अन्तर्गत पोखरा लेखनाथ महानगर पालिकाको पोखरा शहरदेखि पश्चिमउत्तर दिशामा झण्डै ५५ कि.मि. को दूरीमा अन्नपूर्ण हिमाल साउथ, हिमचुली हिमाल र माछापुछ्र्र्रे हिमाल देख्न पाइयो । हिमालको काखमा अवस्थित प्रकृतिको सौन्दर्यले सिङ्गारिएको अति रमणीय स्थानमा गुरुङहरुको घना बस्ती भएको कैयौं स–साना बस्ती, टोलहरु तथा गाउँहरु मिलेर बनेको गाउँको समष्टि नाम ‘घान्द्रुक गाउँ’ रहेछ । यसलाई गुरुङ भाषामा (कोंड नाँश् वा कोंर नाँश) भन्दा रहेछन् । घान्द्रुक गाउँमा पर्यटकहरुको घुईंचो र ढुङ्गै ढुङ्गाले बनेका घर तथा बाटाघाटाहरु भएको हुनाले यो गाउँलाई ‘पर्यटकीय ढुङ्गेनी घान्द्रुक गाउँ’ पनि भन्दा रहेछन् ।
घान्द्रुक गाउँ समुद्र सतह देखि १९५० कि.मि. को उचाईमा तथा यसको कुल क्षेत्रफल २९६.५० वर्ग किलो मिटर भू–भागमा अबस्थित रहेछ । घान्द्रुक गाउँको पूर्वमा मोदी खोला र खोला पारि लान्द्रुक, तोल्का र भिचोक गाउँहरु पर्दा रहेछन् । पश्चिममा देउराली डाँडा, गोरेपानी म्याग्दी जिल्लामा पर्ने रहेछ । उत्तरमा अन्नपूर्ण साउथ हिमचुली र माछापुछ्रे हिमालहरु पर्दा रहेछन् र दक्षिणमा मोहोरिय गाउँ । साँच्चै नै भन्नु पर्दा उत्तरमा झलमल चम्कि रहने सुन्दर सेता हिमशृङ्खलाहरुको काखमा सौन्दर्यले भरिपूर्ण लेक, बेंसी, नागबेली गर्दै कलकल बग्ने मोदी खोला, बसन्त ऋतुमा जङ्गलैभरि ढकमक्क रक्ताम्मे फुल्ने लालीगुराँस, तथा लटरम्म फुल्ने चम्पा तथा सुनगाभाको फूलहरुले सिङगारिने हरियो बनपाखा, लेक, बेंसी जताततै चिरबिर गर्दै कहिले उड्दै, कहिले बस्दै रमाई रहेका डाँफे, मुनाल, कालिज तथा रङ्गी बिरंगी चराचुरुङ्गीहरु पनि देख्न पाइँदो रहेछ ।

यताउती स्वतन्त्र साथ चर्दै र दौडिरहेका मृगहरु, घान्द्रुक गाउँ कै अन्न भण्डार भनेर चिनिने हराभरा सुन्दर एवम् रमाइलो घान्द्रुकको उर्वर भूमिको बेंसी फाँट, ढुङ्गै ढुङ्गाले बनेको मनै लोभ्याउने नागबेली ढुङ्गे बाटाहरुमा कमिलाको ताँती जस्तै देखिने गरी हुलका हुल घान्द्रुक हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु उकालो ओरालो चढ्दै झर्दै आवत–जावत गरिरहेका रमाइलो दृश्यहरु पनि देख्न पाइँदो रहेछ । परम्परागत तथा आधुनिक शैलीमा निर्माण ढुङ्गै ढुङ्गाले बनेको पक्की सुबिधायुक्त होटल तथा लजहरु, प्रत्येक घरमा सेप्टिक ट्याङकी भएको पक्की चर्पीघर, घर घरमा पानीको धारा र घर घरमा पानीको धारा नभएको ठाउँमा टोल टोलमा पानीको धारा, ठाउँ ठाउँमा परम्परागत ढुङ्गे धाराका पधेँरोहरु, सर–सफाइको व्यवस्था दैनिक जीवनमा आवश्यक चिजहरु किनमेलको सुबिधा, शान्त तथा स्वच्छ वातावरणको गाउँ बस्तीहरु, चौबीसै घण्टा बिद्युतको सुबिधा भएको रातको समयमा जताततै झलमल बिजुली बत्ती धपक्क बलेको आवस्थामा झनै सुन्दर देखिनेले गर्दा होला पर्यटकहरुको आइरो लागेको । मनै लोभ्याउने घान्द्रुक गाउँलाई निहालेर हेर्दा, जो कोहीलाई पनि स्वर्ग कै एउटा बगैँचा हो कि जस्तो पनि अनुभूति हुँदो रहेछ र भयो पनि हामीलाई । घान्द्रुक गाउँको मुख्य व्यवसाय पहिले पहिले कृषि, पशुपालन तथा घरेलु उद्योग रहेछ । तर अहिले देश बिदेशबाट ठूलो सङ्ख्यामा पर्यटकहरु आवत–जावत हुने हुनाले होटेल व्यवसाय फस्टाउँदै गएका कारण अहिले कृषि, पशुपालन तथा घरेलु उद्योग व्यवसाय छोडेर धेरै जसो व्यापार व्यवसायतिर आकर्षित भएको देखिन्छ । घान्द्रुक गाउँमा अहिले सम्म ब्ऋब्ए मा दर्ता भएको १५१ भन्दा पनि माथिल्लो सङ्ख्यामा सुबिधा युक्त लज तथा होटेलहरु रहेछन् । साथै अझै पनि धेरै लज तथा होटेलहरु निर्माणाधिनमा रहेछन् । पर्यटन मौसममा पर्यटकहरुलाई आवास क्षमता धान्न नसक्ने हुनाले होटेल व्यवस्थापन समितिले ठाउँ ठाउँमा होम स्टेको व्यवस्था पनि गर्दै आएको रहेछ ।

गुरुङहरुको घना बस्ती घान्द्रुक निवासी सम्पूर्ण गुरुङहरु तथा गैर गुरुङहरु सबैले गुरुङ भाषा नै बोल्ने रहेछन् । तर घान्द्रुके गुरुङहरु गाउँ छोडेर सहरतिर बसाई सराई र समुद्रपारिको देशहरुतिर विस्थापित हुँदै गरेको कारणले यो सुन्दर रमणीय गाउँघरहरुमा गुरुङहरुको सङ्ख्यामा न्यून हुँदै गएको आवस्था र गुरुङ भाषा बोल्नेहरुको सङ्ख्या पनि लोप हुँदै गइरहेको अवस्था रहेछ । अहिले नेपालको विभिन्न स्थानहरुबाट राई, लिम्बू र तामाङ जातिहरु घान्द्रुक गाउँमा बसाई सरेर आउने क्रम बढ्दै रहेछ ।
बिहानको सूर्योदय हुन नपाउँदै हामीलाई निद्रादेवीले माया मारिन् र आफ्नो गनत्व्यतिर लाग्न हामी लालायित भएका थियौँ । बिहानको खाजामा गुरुङ्को रोटी खानुको मज्जा नै बेग्लै भयो हामीलाई । हिमालको दृश्यमा सूर्यको किरण पर्नासाथ देखिने दृश्यले सबै फोटो खिचाउन आतुर थिए । सातबजेको बसमा चढेर लाग्यौँ गोरखा दरबार र सङ्ग्रहलायतिर । दिउँसोको खाना पनि गोरखामा नै खायौँ र लाग्यौँ सङ्ग्रहालगतिर । केही क्षणको अवलोकन पछि दिपेश सरले सबैलाई गोर्खाली पल्टनको दर्जा दिएर पृथ्वी नारायण शाहले राज गरेको दरबारतिर हानियौँ । अघिल्लो दिनकको हिँडाइले होला सबै विद्यार्थी तथा शिक्षकहरु लखतरान भएर हिँडेका थिए । बेलुका गोरखा बजारमा बेही चिनो किनेपछि खान खाएर ओछ्यानतिर लाग्यौँ । भोलिपल्टको नास्तासँगै हाम्रो भ्रमणको अवधि पनि सकिएको थियो र घरमा खान बनाउन लगाायौँ सबैले । दिउँसो बाह्र बजेतिर हेटौँडा झरेर आ–आफ्नो स्थायी तथा अस्थाइ शिबिरतिर लाग्यौँ । यसरी चार रात पाँच दिनको शैीक्षक भ्रमण सकाएर आफ्नो उद्देश्य पूरा ग¥यौँ ।

दसैँ र तिहारको बिचमा अधिकांश आन्तरिक तथा बाह्य पर्यटकहरुले पर्यटकीय स्थलहरु भरिभराउ थिए । विदेशी तथा आन्तरिक पर्यटकहरु पदयात्रामा निस्किनु सुन्दर पक्ष हो भने हामी नेपालीले आफ्नै देश नेपाललाई चिन्न सके मात्र संसारलाई चिनाउन सकिन्छ , त्यसैले तपाईँ हामीले आन्तरिक घुमघामलाई अभियानकै रुपमा अगाडि बढाऔँ र देशलाई समृद्धिको बाटोतर्फ उन्मुख पारौँ ।