रतनपुरको जंगलमा तपस्यामा बसी चर्चामा आएका बम्जनले २ जनालाई बेपत्ता पारेको उजुरी मकवानपुर प्रहरीमा

२०७५ पुष १३,शुक्रबार ०९:२३

मकवानपुर १३ पौष । बारा जिल्लाको रतनपुर गाविसमा रहेको सामुदायिक बनमा तपस्या गरेर आफु बुद्ध हुँ भन्दै जनतालाई भ्रममा पार्दै आइरहेका रामबहादुर बम्जनको अर्को वितण्डा बाहिर आएको छ । उनले आफ्नै आश्रममा रहेका ३ जना अनुयायी (आनी)लाई बेपत्ता पारेको भनी प्रहरीमा उजुरी परेको छ । सुरुवाती चरणमा तपस्या गरेर बसेका भनिएका बम्जनले नेपालीहरुको थुप्रै सहानुभूति बटुलेपनि पछि उनका कर्तुतहरु भटाभट सार्वजनिक हुन थालेका छन् । उनले मकवानपुरका २ जनालाई बेपत्ता पारेको उजुरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा परेको मकवानपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले तु खबरलाई जानकारी दिए । उनका अनुसार नुवाकोट प्रहरीमा पनि १ जनालाई बम्जनले बेपत्ता पारेको भन्दै उजुरी परेको छ ।

बेपत्ता हुनेमा मकवानपुरको पदमपोखरीका ५१ बर्षिय सञ्चलाल तामाङ र ३० बर्षीया फुलमाया रुम्बा रहेको डिएसपी भट्टराईले जानकारी दिए । नुवाकोटका कर्म वाईवालाई पनि बम्जनले बेपत्ता पारेको भन्दै नुवाकोट प्रहरीमा उजुरी परेको छ ।

बम्जनलाई पक्राउ गर्न मकवानपुर प्रहरीको तयारी
अनुयायी बेपत्ता पारेको उजुरी परेपछि मकवानपुर प्रहरीले बम्जनलाई छिट्टै पक्राउ गर्ने तयारी गरेको डिएसपी भट्टराईले जानकारी दिए । उनले अहिले बम्जन सिन्धुलीमा रहेको जानकारी आफुहरुलाई प्राप्त भएको र छिट्टै पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाही गरिने बताए । उनले नुवाकोट प्रहरीले पनि आफुहरुलाई मद्धत गर्ने बताए ।