फिल्म गोपीको प्रवद्र्धन गर्न कविता प्रतियोगिता आह्वान

२०७५ पुष १२,बिहीबार १७:३१

काठमाडौं १२ पौष । आरोही इन्टरटेनमेन्ट प्रालिले फिल्म गोपीको प्रवद्र्धन गर्न कविता प्रतियोगिता आह्वान गरेको छ । कम्पनीले बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । त्यस्तै सात जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ ।

प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा बस्ने नेपालीहरुले भाग लिन पाउनेछन् । सहभागीले गोपी फिल्मको ट्रेलर हेरेर स्वावलम्बन, स्वरोजगार र परिश्रमको भाव झल्किने कविता लेख्नुपर्नेछ ।

सहभागीहरुबाट प्राप्त कवितालाई दुई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मूल्यांकन गरेर विजेता छनोट गर्नेछन् । आगामी माघ ७ सम्म प्राप्त कवितालाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ । कविता नेपाली भाषा लेखिएको हुनुपर्नेछ । माघको दोस्रो हप्ता विजेतालाई पुरस्कृत गर्नेछ ।