कुहिएको र नकुहिएको नेपाल

२०७५ पुष ७,शनिबार १२:१७

–आनन्दराम पौडेल

नाइट–ट्याक्सीचालक प्रेम दुलालजी आज आफ्नै जीवनको सिंहावलोकन गर्न बसे । विगत जीवनका पाना पल्टाउँदै गए – “खाडी देशमा ८ वर्षसम्म हेभि गाडी नै चलाए । नेपाल फर्केर काठमाडौंमा नाइट–ट्याक्सी चलाउन थाले । बा २ ज ४४९८ नम्बरको ट्याक्सी चलाएको पनि २ वर्ष पूरा भयो । नाइट–ट्याक्सी चलाउँदा बिचित्रका अनुभव सँगाल्न पुगेको छु । सरकार र नेताहरुले नै भ्रष्ट र अपराधीहरुको संरक्षण गर्ने भएकोले नेपालमा भ्रष्ट र अपराधीहरुकै हालिमुहालि चलेको भन्ने त अल्लि अघिबाटै सुनिएको होस् तर गाउँ समाज, समुदाय जनजीवन नै छाडा, अराजक बनिसकेको होला भनेर कल्पना गरेको थिइन । केटाहरु त बिग्रेकै थिए, पछिल्लो कालमा केटीहरु झन थामिनसक्नुगरि बिग्रँदै गएको पाएँ । पहिले–पहिले, उहिल्यै, आफ्नो लोग्नेलाई ठूलो पदमा पुर्याउनको लागि सुन्दरी श्रीमतिहरु अधिराजकुमार धीरेन्द्रको बेडमै पुग्थे भन्ने चर्चा हामीले सानै हुँदा सुनेको थियौं । त्यो सुनेर सबैले जिब्रो टोक्थे । अब त जिब्रो टोक्न नपर्ने भएछ । अहिलेचाँही लोग्ने गयल रहेका बखतको लागि सुन्दरी श्रीमतिहरुले, ‘उपयुक्त पात्र भएमा’ भनेर नाइट ट्याक्सी चालकलाई आफ्नो मोवाइल नम्बर टिपाइराख्दा रहेछन् । नाइट ट्याक्सी चालकहरुले यो धन्धा गरेको थाहा पाए । तर, मैलेचाँही यो काम गर्दैगरिन । यो धन्धामा नलागेबापत नोक्सानी चाँही ब्यहोरेको छु । रातको करिब ११ बजेको थियो । बसपार्कमा थिए । २ जना केटा आए र ‘ठमेल जाउँ’ भने । मैले मिटर अन गरे, तर उनीहरुले, ‘२५० दिन्छुस मिटर अन गर्नुपर्दैन’ भने । केही अगाडी बढेको थिएँ, ‘कण्ट्याक्टका महिलासँग कुरा मिलाउनुहोस्’ भने । मैले, ‘म सँग त्यस्ता महिलाको कण्ट्याक्ट–नम्बर छैन’ भने । उनीहरुले पत्याएनन् । ‘खान्दानि परिवारकै छोरी र बुहारीहरुले नाइट ट्याक्सी चालकलाई आफ्नो मोवाइल नम्बर दिईराखेका हुन्छन्’ भन्दैथिए । ‘त्यस्ता युवतीको कण्ट्याक्ट छैनभने रोक्नुहोस्, हामी अर्काे ट्याक्सी लिन्छौं’ भनेर ओर्लिए ।

एकपटक दरबारमार्गमा ट्याक्सी रोकेर बसेको थिए । एउटी युवती आइन् ‘जोरपाटी जाउँ’ भनिन् । जोरपाटी पुगेपछि कहिले यो गल्ली, कहिले अर्काे गल्ली घुमाउन थालिन । आजित भएर बौध्द प्रहरी ठानाभित्रै लगेर बुझाइदिए । प्रहरीमा बुझाएपछि त एक्कासि उल्टै मलाइ नै आरोप लगाउन थालिन् । ‘मलाइ बलात्कार गर्नखोज्यो’ भनिन् । ‘मलाइ जबर्जस्ती गाडीमा हालेर ल्यायो’ भनिन् । एक्कासि उल्टै यस्तो आरोप सुनेर म त अक्क न बक्क भए । तर, प्रहरीले उसैलाइ हप्कायो । ‘आफूचाँही रक्सी पिएर धुत भएको छ, बोलिसमेत लर्बरिएको छस् बिचरालाई उल्टै आरोप लगाउने ?’ भनेर हप्कायो र मलाई जानोस् भन्यो ।

अराजक, छाडा हुँदै माथिदेखि तलसम्म सड्दै, कुहिंदै गएपनि सबै बिग्रिसकेको चाँही होइन रहेछ भन्ने यथार्थ मैले बुध्दभूमि नगरपालिका–९, मैटहवामा पुगेर वर्ष ३० कि सोना खटिकलाई भेटेपछि बुझे । हरुवा–चरुवा, बँधुवामजदुर परिवारमा जन्मेर हुर्केकी सोना खटिकले जीवनमा गरेको सङ्घर्ष–गाथा सुनेपछि ती बहिनीको गोडैमा ढोगुँ–ढोगुँ लाग्यो । ती बहिनीले भयङ्कर सङ्घर्ष गरेकी रहिछन् र निरन्तर र अथक सङ्घर्ष गरेरै अहिले रेडियो कपिलबस्तुमा स्टेशन म्यानेजर भएकी रहिछन् । ती सोना खटिकको जीवनसङ्घर्षको गाथा सुनेपछि मैले सोचे, जसरी मजस्ता नाइट ट्याक्सीचालकहरु पनि छन् जो बिग्रेका छैनन्, त्यसैगरि सोना खटिकहरु पनि छन् जो नबिग्रिकन निरन्तर सङ्घर्ष गरिरहेकी छिन् र अघि बढिरहेकी छिन् ।”

सिंहावलोकन सकेर प्रेम दुलाल उठे र बा २ ज ४४९८ नम्बरको ट्याक्सीतिर लम्किंदाभए ।