पार्टी निर्णय लत्याएर किन अस्पताल अध्यक्ष नियुक्त गरे सामाजिक विकास मन्त्री युवराज दुलालले ?

२०७५, २९ मंसिर शनिबार १८:२३

मकवानपुर । प्रदेश नम्बर ३ का समाजिक विकास मन्त्री युवराज दुलालले हिजो ९ वटा अस्पतालको अध्यक्ष नियुक्त गरे । मकवानपुरको जिल्ला अस्पताल हेटौंडा अस्पताल विकास समितिका अध्यक्षमा उनले नेकपाका पुराना नेता प्रकाश पौडेललाई नियुक्त गरे ।

मन्त्रीले अस्पताल विकास समितिमा पौडेललाई नियुक्त गर्नु बाहिरी रुपमा समान्य देखिएपनि यसले नेकपा विशेष गरी तत्कालिन माओवादी केन्द्रभित्र खैलाबैला मच्चिएको छ । कारण यो हो कि– तत्कालिन माओवादी केन्द्रले स्वास्थ्यकर्मी उत्सव चौलागाईलाई अस्पताल विकास समितिको अध्यक्ष बनाउन मन्त्री दुलाललाई सिफारिस गरेको थियो ।

तर, जनयुद्धका कमाण्डर तथा प्रचण्डका सुरक्षाकर्मी रहीसकेका समाजिक विकास मन्त्री दुलालले पार्टी निर्णय विपरित पौडेललाई अध्यक्ष बनाइदिए । चौलागाईलाई नियुक्त नगरेर उनले पार्टीको निर्णयलाई चुनौती दिएका छन् । भित्री रुपमा मूख्यमन्त्री डोरमणि पौडेलको दबाबको कारण यस्तो निर्णय गरेको बताइएपनि उनले प्रचलित मापदंड नै मिचेर यस्तो निर्णय गरिदिएका छन् । विधिको शासन स्थापित गर्न लाग्नुपर्ने मन्त्री दुलालेनै बिधि मिचेर निर्णय गरेपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।

मन्त्रीको रुपमा सबैभन्दा कमजोर देखिएका मन्त्री दुलालले फेरी एकपटक पार्टी निर्णय विपरित काम गरेर आफ्नो कमजोर छवी सार्वजनिक गरेको टिप्पणीहरु भइरहेका छन् । मन्त्रीज्यू स्वकीय सचिवझै देखिनु भो, उहाँमा निर्णय क्षमताको अभाव देखियो, नेकपाका एक नेताले तु खबरसँग भने । पार्टी निर्णय लत्याउने गरी मन्त्री दुलालले काम गर्नुको कारण बारे पार्टीभित्र गम्भीर समीक्षा हुन्छ, स्रोतले भन्यो । स्रोतका अनुसार, यसअघि स्वास्थ्यकर्मी चौलागाईलाई बोलाएर पार्टीले निर्णय गरेमा तपाइलाई नियुक्त गर्न कुनै समस्या छैन, युवा हुनुहँुदोरहेछ, तपाइ र मेरो लाइन मिल्यो भनी बचन दिएर पठाएको मन्त्रालय स्रोत बताउँछ । तर, बचन दिए विपरित निर्णय गर्ने बेला मन्त्रीज्यू चुक्नु भो, स्रोतले भन्यो ।

मन्त्री दुलालले प्रदेशमा राम्रो काम गर्न नसकेको भनी यसअघि पनि केन्द्रसम्मै कुरा पुगेको थियो तर यसपटक पनि उनी चुकेपछि अब जिल्ला पार्टीमा निर्णय गर्ने तहमा रहेकाहरु चुप लागेर नबस्ने देखिएको छ । चौलागाईलाई अस्पताल विकास समितिको अध्यक्ष बनाउन पार्टी अध्यक्ष प्रेमबहादुर पुलामी, माओवादी केन्द्र ३ नम्बर संसदीय दलका उपनेता कुमारी मोक्तान, पार्टी नेताहरु सर्केस घलानलगायतका नेताहरु लागिपरेका थिए । तर, उनीहरुको आकांक्षाविपरित पौडेलले अध्यक्ष पाए ।