दिपक खड्काको कविता- प्रश्न : छारीको भ्रुणसंग

२०७५, २९ मंसिर शनिबार १६:३४

छोरी , तिमी जन्मने खबरसँगै
खुसी को संसारमा हराएको छु
मन रोमाञ्चीत छ, तर पनि डराएको छु
जन्मेपछि, सोधौली, बाबा !
मलाइ एक्लै स्कुल पठाउन किन डराउनुहुन्छ ?
म गोठालो जाँदा किन चिन्तामा हराउनुहुन्छ ?
नँया नौलो मान्छे आउदा मैले किन लुक्नुपर्ने ?
मुख चलाउने दोष सँगै मैले किन झुक्नुपर्ने ?
हाम्रो सपना, हाम्रो जीवन, कहिले हाम्रै हुने होला ?
गुम्सीएर, पिल्सिएर कहिले सम्म रुनेहोला ?
तिम्रा यि संभावित प्रश्नहरु, अनि
स्कुल गएका छोरीहरुको उखुबारीमा
बलात्कृत रत्तमुछेल लाशहरुले
न्यायका निम्ती चिच्याउदा चिच्याउदै
थकिसकेका , मरिसकेका आशहरुले
मलाइ ऐठन गरिरहेकोबेला
तिम्ले सोध्न सक्ने यी अबोध जिज्ञासाले अत्तालिदै
सरकारलाइ सोध्ने दुस्साहस त गर्दिन
म तिम्रै भु्रणलाइ प्रश्न गर्दछु
खुसीको मजेत्रो आडाउदै,
तिमीलाइ अन्माउने चाहना, राखु कि नराखु ?
असल बाबु हनु नसक्ने ठुलो डर छ
तिमीलाइ जन्माउने चाहना ,राखु कि नराखु ?

जन्मेपछि ,सोधौली
बाबा मैले एक्लै मेलापात , बजार किन जान नहुने ?
परिवारमा सवैभन्दा पहिले मैले किन खान नहुने ?
मनखोलेर सबैसामू, मैले किन हाँस्न नहुने ?
खुसी हुदा दंगहुदा मैले किन नाँच्न नहुने ?
भाइले जस्तो लगाएनि प्रशंशाको गीत गाइने
मैले लाउने कपडामा स्वीकृती किन चाहिने ?
मैले मात्र सधै किन अलच्छिनी हुनु पर्ने ?
एकछिन घर ढिलो आउदा तपाइहरुले रुनुपर्ने
तिम्रा यि संभावित प्रश्नहरु , अनि
नुन किन्न गएकी सानो छारीको
खोल्सा पल्टिएको क्षतविक्षत शवमा
छिमेक रोइरहेकाबेला
अबरुद्ध गला अनि गह आँशुले धोइरहेकोबेला
जञ्जालै जञ्जालले बेरीएको एउटा निरीह बाबु
सरकारलाइ सोध्ने दुस्साहस त गर्दिन
म तिम्रै भु्रणलाइ प्रश्न गर्दछु
खुसीको मजेत्रो ओडाउदै,
तिमीलाइ अन्माउने चाहना, राखु कि नराखु ?
असल बाबु हनु नसक्ने ठुलो डर छ
तिमीलाइ जन्माउने चाहना ,राखु कि नराखु ?