हेटौंडा अस्तपताल सुधार्न असमर्थ पौडेललाई फेरि त्यै जिम्मा !

२०७५, २९ मंसिर शनिबार १६:०४

मकवानपु्र । हेटौंडा अस्पताल विकास समितिको अध्यक्षमा हिजो सामाजिक विकास मन्त्रालयले प्रकाश पौडेललाई नियुक्त गरेको छ । सामाजिक रुपमा स्वच्छ छवी भएका नेकपा नेता प्रकाश पौडेल यस अघि पनि अस्पताल विकास समितिका अध्यक्ष भएका थिए ।

तर, अस्पतालको विकासमा भने उनले अशल काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना भएको थियो । अस्पतालका कर्मचारीलाई चेन अफ कमाण्डमा राख्न नसकेको आरोप खेपेका उनै पौडेललाई मन्त्रालयले फेरी हेटौंडा अस्पताल सुधार्ने जिम्मेवारी दिएको छ ।

अस्पताल सुधार गर्न भन्दै महायज्ञ लगाएका पौडेलले महायज्ञबाट उठेको पैसाले सडक सिमाभित्र पर्ने गरी भवन बनाइदिए । उतिबेलै २५ मिटरभित्र भवन नबनाउन आएको चौतर्फी सुझावलाई पौडेलले मनन गरेनन् । जसको फलस्वरुप केही महिनाभित्रै सडक कार्यालयले सो भवन भत्काई दियो । अस्पताल राम्रो बनाउन हेटौंडावासीले सप्ताहमार्फत् गरेको लगानी चुर्लुम्म हुन गयो ।

४५ लाख रुपैयाँ लगानी गरी बनाइएको भवन सडक सिमाभित्र परेपछि पैसा बालुवामा पानी सरह भयो । महायज्ञ लाउँदाका बखतको हिसाबकिताब पनि पारदर्शी छैनन् । असल नेता भनी चिनिएका पौडेल अस्पतालमा अध्यक्ष भएपछि त्यो छवीलाई बचाइराख्न सकेनन् । उनी खराब मान्छे त होइनन, तर अस्पताल सुधार्न भने उनीबाट ठोस काम भएनन, उनलाई नजिकबाट चिन्नेहरु भन्छन् ।

चुनौती नै चुनौती छ :

हेटौंडा अस्पतालको व्यवस्थापन त्यति सजिलो छैन । सधैँभरि विवादमा आइरहने अस्पतालमा कर्मचारी र डाक्टरहरुको कार्यशैली चित्तबुझ्दो छैन । अधिकांश डाक्टरहरु क्लिनिकमा दिन गुजार्छन् ।

राम्रा नाम चलेका डाक्टरहरुले अस्पताल भरिएको भए पनि ती डाक्टरहरुको नाम क्लिनिकमा बिरामी जाँचेका कारण बढी चलेको छ । यसलाई रोक्न पौडेललाई ठूलो चुनौती छ । तत्कालिन क्षेत्रीय प्रशासक बिनोद केसीको पहलमा अस्पतालभित्र फार्मेसी संचालनमा छ । सो फार्मेसीलाई पारदर्शी तरिकाबाट चालाउने काम पनि चुनौतीपूर्ण छ ।

अस्पतालको बिरामी भर्ना गर्ने वार्ड लाथालिङ छ, इमेरजेन्सी त्यस्तै छ, यि सबैलाई सरफाइ गरी संचालनमा ल्याउन पनि पौडेललाई ठूलो चुनौती छ । बिरामी भर्ना गर्ने वार्डमा सद्धे मानिस जाँदा पनि भोमिट हुने अवस्था छ, यसलाई सुधार्न पौडेललाई महाभारत पर्ने देखिएको छ । केही कर्मचारीले आर्थिक लाभ लिई सामान खरिद गर्ने गरेको गुनासाहरु पनि अस्पतालभित्रै छ ।

महायज्ञ लगाउँदा अस्पताललाई करोडौँ सहयोग गर्छु भनी सार्वजनिक रुपमा बोल्ने व्यक्ति तथा सस्थाहरुले अस्पताललाई हालसम्म बोलेको रकम बुझाएका छैनन्, ती व्यक्तिहरुलाई बोलेको रकम अस्पतालको नाममा ल्याउन पनि पौडेललाई चुनौती छ ।

यसलाई रोक्न पनि पौडेल सक्षम हुनुपर्ने देखिएको छ, तर पौडेलबाट अस्पताल सुधारका पक्षमा के कस्ता काम हुन्छन् त्यो भने भविश्यको गर्वमै छ ।

पहिलेको भन्दा निकै सुधार गरेको थिए, तर जस पाइएन : नवनियुक्त अध्यक्ष पौडेल

आफू अस्तापल विकास समितिको अध्यक्ष भएर धेरै सुधारका काम गरेको उनले तु खबरलाई बताए । मेरो पालामा अस्पताल विजोग अवस्थामा थियो । म अध्यक्ष भएर आएपछि अस्पतालमा थुप्रैै सुधार कामहरु भएका थिए । तर, विरोधीहरुले मैले गरेको कामको जस दिएनन् । अब कार्ययोजना बनाएर सबैसंग सुझाव संकलन गरेर अस्पताललाई सुधार गर्छु । तपाइहरुको सबैको सहयोग आसा गरेको छु, उनले तु खबरसँग भने ।