कथा : टेक्नोलोजिकल ड्रग्स  

२०७५ मंसिर २९,शनिबार ०७:१०

सिएम रिमाल

   मकवानपुर २९ मंसिर । कुनै एउटा गाउँ थियो । त्यो गाउँ नजिकै कलकल बग्ने खेला आफ्नै गतिमा रफ्तार पहिल्याउँदै यात्रारत् थियो । खोलाको सङ्गीतमा चराहरुले आफ्नो स्वर मिसाइ रहेका थिए । त्यो स्वरलाई सार्थक बनाउन रुखहरु आतुर भएर नाचिरहेका थिए । त्यस गाउँ नजिकै एउटा विद्यालय थियो । गाउँ वरपरका बालबालिकाहरुलाई शिक्षा बाडिरहेको थियो । विद्यालय पुग्न लगभग त्यस गाउँबाट ३० मिनेट जति लाग्थ्यो । गाउँका सबै भाइबहिनीहरु विद्यालय आफ्नो अध्ययनका लागि जान्थे । दिउँसो केटाकेटी शून्य हुन्थ्यो त्यो गाउँ । माध्यमिक विद्यालय भएकाले त्यस तहसम्म पढ्ने विद्यार्थी मात्र त्यसै विद्यालयमा पढ्थे । उच्च शिक्षाका लागि भने अलिपर रहेको सहरमा जान्थे । विद्यार्थीहरु कोही अब्बल, कोही मध्यम, कोही कमजोर थिए । सबैका काम, आ–आफ्नै बाध्यता, विशेषता थियो त्यस गाउँमा । कोही व्यापारी, कोही किसानी, कोही राजनीतिज्ञ, कोही बुकुलठ्ठक, कोही शिक्षक, कोही सरकारी जागिरे,  सबैका पेसा फरक फरक ।

त्यस गाउँका एक व्यापारीका छोरा अतीत १ कक्षामा पढ्थे । उनको दिनचर्या बिहान जुरुक्क उठ्ने मोबाइल चलाउने, खाना खान पनि आमाले नबोलाएसम्म नजाने, किताब छुँदै नछुने अनि विद्यालय     जाने । बेलुका घर आउँदा खाजा तयार हुनुपर्थ्यो नत्र भाँडभैलो । खाजा खाएपछि फेरि उही काम पुरानै, मोबाइल कि त टिभी । जिनतिन आमाको करकापमा गृहकार्य गर्याजस्तो मात्र गर्थ्यो । बेलुका खाना खान पनि मोबाइल नै चाहिन्थ्यो । कि त टिभी । आमा बुबालाई पनि फकाउन सजिलो । सुत्ने बेलामा सिरानी हुन्थ्यो मोबाइलको । विद्यालयले मिटिङ्मा बोलाउँदा पनि ढिलो पुग्थिन् र चाँडो जान खोज्थिन् अतीतकी आमा । “ विद्यालयले गृहकार्य नै दिँदैन । २० मिनेटमै सकाउँछ मेरो छोराले । घरमा पढ्न मान्दैन । जतिखेर पनि मोबाइलमा मात्र झुन्डिन्छ । कि त टि.भी मात्र ” आमाको एकोहोरो प्रवचन सुरु हुन्थ्यो त्यस मिटिङ्मा । विद्यालय आफ्नै तरिकाबाट सहजीकरण गर्न खोज्थ्यो तर मरे मान्ने तयारीमा हुँदिनन् आमा । आखिर विद्यालयलाई नै दोष लगाएर आफ्नो घरतिर लाग्छिन् ।

“ए बूढा, बूढा, कता हो क्या ? बोलाको पनि सुन्नुहुन्न ? आज म विद्यालय गएर सबैलाई गाली गरेर आएँ नि ।” छोराका विषयमा । “के भनिस् त ?” बूढाले जिज्ञासा राख्छन् । “के भन्नु नि पढाइभन्दा अतिरिक्त बढी भयो,  गृहकार्य कम भयो, अलि ख्याल गर्नु पर्यो ” भनेँ नि । ला मरिगो नि भन्दै बूढा फायर । बूढाले खासै मतलब नगरी आफ्नै मोबाइलको क्याण्डीक्रस मै व्यस्त भए । आमा छोरालाई खनखन गर्न   थालिन् । छोरा पल्लो छेउ बसेर रुन थाल्छ , ढोकामा चुकुल लगाएर कोठाभित्र बस्छ । खाना खान पनि आउँदैन । घुर्की मात्र लगाउँछ । आमाको मन न हो कहाँ मान्छ र ? बोलाएर उही मोबाइल   थमाइदिन्छिन् । के खोज्छस् कानो आँखा भै गयो छोरालाई ।

छोरा आठकक्षामा जिनतिन पुग्छ । ऊ अब संसार कै बलियो आफूबाहेक कसैलाई देख्न छाड्छ । आमाबुबाभन्दा साथी नै प्यारो ठान्छ । कसैले केही भने पनि रिसाउँछ । डिप्रेसनको सिकार नजिक पुग्छ  । मानसिक रोगीजस्तै एकोहोरो टोलाइरहन्छ । कोठामा एक्लै चुकुल लगाएर बस्छ । कतैबाट कोही कसैको आवाज आएमा “म पढ्दै छु भन्ने बहानामा व्यस्त मात्र हुन्छ । ऊ खाना पनि अरुभन्दा पछि नै खान्छ । फेसबुक उसको सर्वस्व भएको थियो । खोलेपछि त एकछिन पनि फुर्सदै हुँदैन अचेल उसलाई । आमाबुबा पनि खुसी र दङ्ग छन् छोरो बाहिर ननिस्केकोमा । अतीतले संसार आफ्नै मोबाइलमा पाउँछ त किन बाहिर निस्कियोस् ? विद्यालयबाट फोन आउँछ आउनु प¥यो भनेर । आमा जान्छिन् । “तपाईको छोरो अचेल एकोहोरो हुन थालेको छ, केही सोध्यो भने घोरिएर मात्र बस्छ । पढ्न पनि त्यति मन गर्दैन, गृहकार्य सधैँ अपुरो हुन्छ । केही भन्यो भने झट्टै रिसाउँछ । शिक्षकलाई उल्टै टेडो आँखाले खाउँला जस्तो मात्र गर्छ ” कक्षा शिक्षकले सुनाउँछन् । अँ, मेरो छोरो पहिलाको भन्दा अहिले ज्ञानी भएको छ, घरबाट बाहिर पनि जाँदैन, जतिखेर पनि कोठामा मात्र बस्छ । बेलुका अबेरसम्म सिरकले मुख छोपेर पढ्छ अनि तपाईँ त्यतिकै आरोप लगाउनुहुन्छ । अतीतको आमाको भनाइ यस्तो आएपछि मार्कसिट देखाउँदै “ल, हेर्नुस् त रिजल्ट जम्मा एउटामा मात्र पास  छ ।” कक्षा शिक्षकले देखाउँछन् । आमा अवाक हुन्छिन् । घर गएर बूढालाई देखाउँदा ए भै गो नि त अर्को वर्ष राम्रै ल्याउँला नि । छोरालाई भक्कुमार गाली त गर्छिन् तर छोरो म मर्दिन्छु भन्दै बाहिर जान खोज्दा आमाले हत्त न पत्त बोलाएर अङ्गालो हाल्छिन् । छोरो मख्ख । छोरोले अचेल घुर्की मात्र लगाउन थालेको छ ।

वषौं बित्छ । छोरोले एसईई पनि सी ग्रेड ल्याएर पास त गर्छ तर मुख्य विषयमा भने डीभन्दा कम । त्यसैले कलेज पढ्न पनि आफूले रोजेको विषय पाउँदैन । बल्ल बल्ल शिक्षा विषय लिएर पढ्छ । साथीहरु आफूले रोजेको कलेज पढ्न जान्छन् तर उसमा भने मार्कसिटले तय गरेको कलेज पढ्न जानु पर्ने बाध्यता देखियो । उसलाई पढाइभन्दा पनि अरु कुराहरु नै मतलब लाग्न थाल्यो । ऊ पढ्न जाँदा कलेज नगई कुनै होटल जान्थ्यो र दिनभरि त्यही बसेर चिया चुरोट, गाँजासमेत खान्थ्यो । यस्तै यस्तैमा उसको साथीहरु बढ्दै गए र ऊ अब कुनै लत बिना बाच्न नसक्ने भयो । उसको दिमाग पनि अचेल एकोहोरो हुँदै गयो । ऊ घर परिवारभन्दा साथीभाइसँग मात्र रम्न चाहान्थ्यो । कहिले त बेलुका घरसम्म जाँदैनथ्यो । आमा बुबाले फोन गरिहाले भने म साथीको घरमा पढ्दै छु या बर्थडे पार्टी छ भनेर झुट बोल्थ्यो । अब भने बुबाआमालाई अलिअलि शङ्का लाग्दै आउन थाल्यो । छोरो किन घर आउँदैन ? किन साथीभाइसँग मात्र बस्न खोज्छ ? पढाइभन्दा मोबाइलमा मात्र किन झुन्डिन्छ ? यस्ता प्रश्नहरुले सताइरह्यो उनीहरुलाई ।

भोलिपल्ट छोरो घर आउँछ । आमाबुबाले सोध्छन् कहाँ गएको थिइस् ? ऊ चुपचाप बस्छ । केही बोल्दैन बेलाबेलामा झर्किन्छ मात्र । यस्ता व्यवहार देखेर आमाबुबाहरु अवाक हुन थाले । उनीहरुले कति सम्झाउन खोजे तर छोरोले अब ज्यानज्याला मान्नेवाला थिएन । २—४ दिन पछि छोरोको विद्यालयबाट खबर आयो । उनीहरु दुबै गए । शिक्षकले छोरो कति दिनदेखि कलेज नआएको कुरा बताए । त्यो सुन्ने बित्तिकै छानाबाट खसेझैँ झसङ्ग भए । खोज्न हिँडे जताततै । पुलिसचौकी गएर बुझ्दा त छोरो त्यही पो रहेछ । किन मेरो छोरोलाई यहाँ ल्याएको भनेर आमाले सोधिन् । “तपाईको छोरोले हिजो राति एउटा घरमा चोरेको अवस्थामा हामीले भेटेयौँ र समाएर यहाँ ल्याएका हौँ” एक प्रहरीको जवाफ थियो त्यो । तीन छक्क परे दुवैजना । बुझ्दै जाँदा छोरो त लागुपदार्थको दुव्र्यसनमा नमज्जाले फसिसकेको रहेछ । उसले लागुपदार्ग सेवन गर्ने पैसा नभएर चोर्नु परेको अवस्था आएको देखियो । छोरोले बुबाआमा भेट्टा पनि कुनै आश्चर्य मानेन ।  उल्टै ऊ एकोहोरो घोत्लिएर बसिरहेको थियो । बल्ल तल्ल आमाबुबाको जमानीमा छुट्यो तर छोरो पहिलेको जस्तो थिएन । ऊ अहिले पनि मोबाइलको नसाबाट छुट्कारा हुन सकेको छैन ।

उसलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याइयो । “हरेक मोबाइलले एउटा अति खतरनाक रेडिएसन पैदा गर्छ, जुन क्यान्सरको प्रमुख कारण बनेको छ । जसरी माइक्रो वभनमा तताएको खाना खानु हुँदैन, मोबाइल त्योभन्दा दस गुणा बढी हानिकारक हुन्छ । कानमा घण्टौसम्म मोबाइल राखेर कुरा गर्नेहरु नराम्रोसँग बे्रनको बिमारी भइरहेका छन् । खल्तीमा मोबाइल राख्नु पनि ठूलो असर गर्दछ । पुरुषलाई नपुंसक बनाउने र महिलालाई पाठेघरको समस्या बनाउने सम्भावना धेरै हुन्छ । एकजनाले सातवटा मोबाइलको बीचमा काँचो अण्डा दस घण्टा राखेर हेर्दा त्यो अण्डा पाकेको प्रमाणित गरेका छन् । त्यसैले तपाईको छोरो पनि नपुंसक भएको छ । उसले अब बच्चा जन्माउन सक्दैन ।” डाक्टरले के बोलेका मात्र थिए । आमा ठाउँको ठाउँमै बेहोस् । पछुताउनुको विकल्प थिएन उनीहरुमा । समयले कहिल्यै पर्खदैन, बगेको खोला कहिल्यै फर्कदैन भनेको जस्तै भयो । उतिखेर समयमा बुद्धि पुर्याएको भए सायद अहिले टाउकोमा हात राख्नु पर्दैन थियो होला नि ।

“स्मार्ट फोनको भनेको डिजिटल ड्रगजस्तै हो । यसले मानसिक समस्या ल्याउनुको साथै डिप्रसेन, चिन्ता तथा आक्रामक बनाउँदछ । यसले निद्रा, खानपिन तथा शारीरिक गतिविधिमा ठूलो असर पु¥याउँदछ । आफ्नो बालबालिकाहरुले दिनको कति भिडियो गेम खेल्छन् भनेर हेक्का नराख्दा उनीहरुको दिमागको फ्रोन्टल पोटेक्समा असर गर्दछ । यो असर भनेको युवायुवतीमा कोकिनले पारेको असर जस्तै हो । दिनमा १ घण्टाभन्दा बढी भिडियो गेम, मोबाइल तथा टिभी हेर्न दिँदाको असर अहिले तपाईको छोरोमा देखिएको असर हो ।” भनेर डाक्टरले बुबालाई भन्दा बुबा पनि ठाउँको ठाउँमै बेहोस् ।