मकवानपुरकी सेतीमायाले ७२ बर्षमा पाइन् नागरिकता

२०७५, २८ मंसिर शुक्रबार १९:०५

मकवानपुर २८ मंसिर । मकवानपुरको भिमफेदी गाउँपालिका निवासी सेतीमाया बलले ७२ बर्षको उमेरमा नागरिकता पाएकी छिन् । जिल्ला प्रशासन कार्यलय मकवानपुरको आयोजनामा हिजो र आज भएको नागरिकता वितरण सम्बन्धी घुम्ती शिविरमा सेतीमायाले नागरिकता पाएकी हुन् ।

उनलाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले नागरिकता दिएका हुन् । शिविरमा ८८ जनाले नँया नागरिकता र १३० भन्दा बढीले मतदाता परिचयपत्रको फोटो खिचेको प्रमुख जिल्ला अधिकारी तामाङ्ले तु खबरलाई बताए । उनले भने ‘मकवानपुरवासी सबैलाई नागरिकता जिम्मेवारी मेरो छ । त्यसैले गाँउ–गाउँमा पुगेर नागरिकता वितरण गर्छु । ’ उनले आगामी दिनमा मकवानपुरको बकैया गाउँपालिका, राक्सीराङ गाउँपालिका र थाहा नगरका सर्वसाधारणलाई सहज बनाउन आफु घुम्ती शिविर लिएर गाउँमा पुग्ने बताए ।

भिमफेदी गाउँपालिकाले व्यवस्थापन गरेको उक्त शिविरमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, निर्वाचन आयोगका प्रतिनिधि, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा लगाएतको उपस्थिति रहेको थियो ।
यसअधि पनि मकवानपुरका प्रजिअ तामाङले नागरिकता वितरणको लागि गाउँगाउँमा पुगरे घुम्ती शिविर गरिरहेका छन् ।