‘गौ-प्राणि’ को साइकल-चिन्तन

२०७५ मंसिर २७,बिहीबार १९:४०

साइकल-चिन्तन गर्दै ‘गौ-प्राणि’ ले सोचे, “जीप र कारमा सवार गर्नेहरुले एकछिन फुर्तिलगाउनको लागि त स्वाद लेलान्, तर तिनीहरुका कठिनाई झन् टीठलाग्दो छ। एक त किन्नकै लागि ठूलो पूँजि खन्याउनुपर्ने, अर्को त्यस्लाइ मेण्टेन गर्न महाकठिन। मरम्मत-सम्हारको हिसाबले मात्र हैन राखनधरन र जतनको हिसाबले समेत् धेरै चाँजोपाजो र बन्दोबस्त मिलाउनुपर्ने। जीप र कारमा सवार हुनेहरुले आफ्ना इष्टमित्र, समुदाय र समाजबाट आफू टाढिंदैगएको धेरै पछि, समय भिड्किसकेपछि मात्र पत्तो पाउँछ। जीप र कारमा चढेर कम्पाउण्डबाट निस्केपछि रोडको दाञा-बाञा आफन्तलाइ देखेरपनि ठाउँ-कुठाउँ रोक्नमिल्दैन। एकातिर ट्राफिक नियमले दिंदैनभने अर्कोतिर जीप, कारको इज्जतको पनि सवाल हुन्छ। त्यसैले, सडकछेउका चियापसलमा चिया पिउँदैबसेका मित्रमण्डलीले देखेर पनि कार-सवारलाइ बोलाउँदैनन्। त्यतिमात्र हैन, जीप र कारको लागि पार्किङको समस्या निकै चर्को छ। तर, यो साइकल ती सबै समस्याबाट मुक्त छ।”

   ‘गौ-प्राणि’ले साइकल-चिन्तन जारी राखे – “नेदरल्याण्डका प्रधानमन्त्री साइकलमै अफिस गैरहेको टेलिभिजनमा हेरेको हुँ। बेलायतमा अक्सफोर्ड विश्वबिद्यालयका फ्रोफेशरहरु झरीमा समेत् रुझ्दै साइकलमै गैरहेका छन्। उताका र यताकामा फरक यत्ति छकि, उताकाहरु बोल्नु, हल्लागर्नु भन्दा गरेरै देखाउँछन् तर यताकाचाहीं हल्ला धेरै गर्छन् तर कामचाहीं फिटिक्कै गर्दैनन्। तीन बर्षअघि भारतले नाकाबन्दी लगाउँदा कमरेड प्रचण्डले साइकल चढ्ने उद्घोष गरेका थिए, तर एकदिन पनि चढेनन्। केही बर्षअघि तत्कालीन प्रधानसेनापति गौरवशमशेर राणाले पनि सनकमा आएर साइकल चढ्ने र मातहतका अधिकृतहरुलाइ समेत् साइकल चढ्नलगाउने उद्घोष गरेका थिए। उनको उद्घोष पनि उद्घोषमै सीमित रह्यो। तर, आइन्स्टाइन साइकल चढिरहेका हुन्थे। बैज्ञानिक,लेखक कार्ल सगन पनि साइकलकै पक्षपाति थिए। अमेरिकाका तत्कालीन राष्ट्रपति जोन एफ केनेडी पनि अनुकुल मिल्नासाथ साइकलकै सवारीमा हुईंकिरहेका हुन्थे। पूर्व राष्ट्रपति जर्ज डब्लु बुस समेत् दिनको पौनेघण्टा साइकल नचलाइ धीतमर्दैन भन्थे।”

      ‘गौ-प्राणि’ले एकोहोरो सोच्दैगए – “अन्य देशका विशिष्ट महानुभावले साइकललाइ महत्व दिए भनेर मात्रै हैन, यथार्थमा साइकलको महत्व विशिष्ट छ। यस्ले इन्धन सिध्याउँदैन, बरु बोसो सिध्याउँछ। मिसमास भएका डिजेल बालेर धुवाँको कुइरिमण्डल पार्दैन र वातावरणलाइ प्रदुषित गर्दैन। न त चर्को हर्न बजाएर ध्वनिप्रदुषण नै गर्छ। साइकल-दुर्घटना यति न्युन हुन्छ कि त्यस्लाइ अपवादमा लिनसकिन्छ। दुर्घटना नै हुँदापनि गम्भीर क्षति पुर्याउँदैन। त्यही भएर होला, ड्राइभिङ लाइसेन्स लिने वाध्यताबाट त मुक्त छ नै, पुलिसहरुले पनि त्यति आँखालगाउँदैनन्। न्युन बजेटमै खरिद गर्नसकिने र पकेटमनिले मरम्मत हुने भएकोले यो सर्वसाधारणको लागि अभिन्न मित्र हो।”

   ‘गौ-प्राणि’ को यो साइकल-चिन्तन गम्भीर मात्र हैन मननयोग्य नै छ। साइकल-चिन्तन गरिरहेका यी ‘गौ-प्राणि’ अरु कोही नभएर हेटौंडाका देवराज खरेल हुन्। जीवनको शुरुकालमा सरकारी जागिर पनि खाए, तर छाडे। सरकारी जागिर छाडेर आफूलाइ साहित्यसेवामा सपर्पित गरेका यी गौ-प्राणिले ‘मातृभूमि साहित्य समाज’ को स्थापना गरे। आफ्नै खर्चमा, आफ्नो घरखर्च कटाएर, ‘मातृभूमि (साहित्यिक पत्रिका)’ को प्रकाशन निरन्तर गरिरहेकै छन्।

छोराहरु ठूला भएपनि, बुहारीहरु आएपनि र नातिनातिनाहरु माथिल्लो कक्षामा पढ्ने भैसक्दापनि हेटौंडाका ‘गौ-प्राणि’ को साथी भनेको त्यही साइकल मात्रै भयो। करिब ४० बर्षदेखि  हेटौंडाको पिप्लेदेखि बजारसम्म सधैं साइकलमै ओहोरदोहोर गरिरहेको देख्नुभएको छभने त्यो सरासर हाम्रो ‘गौ-प्राणि’ नै हुनुपर्छ; फरक पर्नेछैन।