आश्रमबाट कपाल काट्न बाहिर निस्किएका कोइराला भए बेपत्ता, कोबाट भयो यस्तो लापरवाही ?

२०७५, २० मंसिर बिहीबार १५:०४

मकवानपुर २० मंसिर । सडकमा जिवन बिताईरहेका मानिसहरुलाई आश्रममा ल्याएर सेवा प्रदान गर्छौं भन्दै सामाजिक रुपमा ख्याती कमाइरहेको मानव सेवा आश्रमबाट डिबी कोईराला हराएको ४ दिन भयो । आश्रमको लापरबाहीको कारण कोईराला अहिले सम्पर्कमा छैनन । उनको खोजी कार्य भइरहेको छ । मानवसेवा आश्रम हेटौंडामा गत असारदेखि संरक्षणमा रहेका भनिएका कोईराला यहि मसिंर १६ गतेदेखि सम्पर्कमा छैनन् ।
उनी कहाँ छन् के गर्दै छन् यसबारे आश्रम बेखबर छ ।

बेपत्ता भएका कोईराला शारीरिक रुपमा अशक्त छन् । उनी बैशाखीको साथमा मात्रै हिड्न सक्छन् । यसरी शारीरिक रुपमा अशक्त मानिसलाई किन कपाल काट्न बाहिर पठाइयो ? प्रश्न उठ्न थालेको छ । आश्रमबाट बाहिर पठाउनु अस्वभाविक होईन तर कसैको रेखदेख बिना शारीरिक अपाङगता भएको मानिसलाई एक्लै कपाल काट्न पठाउँदा उनीहरुको सुरक्षामाथिनै प्रश्न उठेको हो ।

आश्रमले आश्रमभित्रै कपाल काट्ने, नङ काट्ने नुहाउने यावत सम्पुर्ण किसिमका सेवाप्रदान गर्दै आएको फोटो सामाजिक सञ्जालमा भाईरल बनाउदैं आएता पनि कोईरालाको घटनाले आश्रमको वास्तविकता प्रस्ट्याएको छ ।

तु खबरले आश्रमका संरक्षक रामजी अधिकारीलाई यसबारे जिज्ञासा राख्दा आफु बाहिर रहेको र यसबारे सम्पुर्ण कुरा थाहा नभएको बताए । तु खबरले आश्रमका अभियान्ता उमा सुवेदीसंग कुराकानी गर्दा आफुहरुलाई कोईराला बाहिर निस्केको थाहा नै नपाइको बताईन् । उनी हराएको थाहा पाउने बित्तिकै उनले आफुहरुले खोज्ने प्रयास गरिरहेको बताएकी छिन् ।
कोईराला हराएपछि आफुहरुले प्रहरीलाई खबर गरेको आश्रमको दाबी छ । त्यसो त आश्रममा ल्याईएकाहरुलाई त्यहिँ सम्पुर्ण किसिमका सेवाहरु प्रदान गर्ने गरेको आश्रमको दाबी छ ।