राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल खेलमा एविसी पोखरा विजयी

२०७५, १९ मंसिर बुधबार १३:५५

हेटौंडा १९ मंसिर । हेटौँडा–६ चौघडामा आजदेखि शुरु भएको राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एविसी पोखराले विजयी सुरुवात गरेको छ ।

भेट्रान्सको आयोजना एवं ६ नम्बर वडा कार्यालयको सह–आयोजनामा बंशगोपाल मा.विको खेल मैदानमा भएको प्रतियोगितामा सिएफटी, हेटौँडालाई २–० गोल अन्तरले पराजित गर्दै पोखरा विजयी भएको हो ।

एविसीको तर्फबाट सञ्जय गुरुङ र हरि तामाङले १/१ गोल गर्दै पोखरालाई विजयी सुरुवात गराएका हुन् । प्रतियोगितामा पोखराका मानकाजी गुरुङ म्यान अफ दि म्याच घोषित भएका छन् ।

प्रतियोगिता अन्तर्गत अहिले केहीबेरपछि सुरु हुने दोश्रो खेलमा बीरगञ्ज युथ एकेडेमी, बीरगञ्ज र सिमरा भेट्रान्स, सिमराबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी आजै हुने तेश्रो खेलमा बुटबल भेट्रान्स, बुटबल र पश्चिम चितवन भेट्रान्स, चितवनबीच प्रतिस्पर्र्धा हुने भएको छ ।