शिक्षक महासंघको आन्दोलन स्थगित

२०७५, १९ मंसिर बुधबार १२:१०

काठमाडौँ, १९ मंसिर । सरकारसँग वार्ता शुरु भएपछि नेपाल शिक्षक महासंघले घोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा वार्ता गरी माग सम्बोधनको पहल गर्ने आश्वासन दिएपछि महासंघले मंसिर २१ गतेका लागि घोषणा गरिएको ‘काठमाडौँ जाऔँ’ कार्यक्रम स्थगित गरेको हो ।

मंसिर १४ गते पनि महासंघले उपत्यकाका सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध गराई काठमाडौँमा प्रदर्शन गरेको थियो । सो दिन छुटेको पढाइ मंसिर २९ गते शनिबार पूर्ति गरिने महासंघले जनाएको छ ।