१४ बर्षदेखि हेटौंडाको वाशुदेव सभागृह बेरोजगार ! प्रदेश सरकार किन लाचार ?

२०७५ मंसिर १२,बुधबार २०:०२

बलराम पुडासैनी

मकवानपुर १२ मसिंर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा रहेको वाशुदेव सभागृह १४ बर्षदेखि बेरोजगार छ । वि.स. २०६० सालमा हेटौंडा नगरपालिकाका तत्कालिन नगरप्रमुख मधु अधिकारीको पहलमा निर्माण शुरु गरिएको वाशुदेव सभागृह अहिलेसम्म पनि निर्माणाधिन अवस्थामै छ । त्यसबेला विभिन्न कार्यक्रम वा सभासम्मेलन गर्नका लागि सभाहलको आवश्यकता महशुस भएपछि तत्कालिन नगरप्रमुख मधु अधिकारीको पहलमा सभागृह निर्माणको काम सुरु भएको थियो । तर उनको कार्यकाल ११ महिनामात्रै रहेकोले सभागृहको निर्माणले पुर्णता पाउन सकेन ।

नगरपालिकाको बहुआयामिक स्रोतको रुपमा प्रयोग गरिने योजना अनुसार निर्माण शुरु गरिएको सभागृह अहिले बेरोजगार अवस्थामा छ । त्यसबेला स्थानिय विकास मन्त्रालय र तत्कालिन हेटौंडा नगरपालिकाको २ करोड ५० लाख लगानीमा निर्माण गरिएको सभागृहले १४ बर्षसम्म पनि पुर्णता पाउन नसक्दा हेटौंडा उपमहानगरपालिका र समग्र ३ नम्बर प्रदेश सरकारलाईनै गिज्याईरहेको छ ।

मुख्यमन्त्री ज्यूको ध्यान कता ?

हेटौंडा नगरपालिकाको प्रमुख हुँदा डोरमणि पौडेलले वाशुदेव सभागृह निर्माणको पहल शुरु गरेका थिए । उनले सभागृहबारे निकै योजनाहरु समेत तयार पारेका थिए । तर उनको कार्यकालमा समागृह निर्माण शुरु हुन सकेन ।  अहिले उनी ३ नम्बर प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा छन् । प्रदेशकै राजधानीमा भएको सभागृहको यस्तो हालत हुँदा समेत उनको ध्यान किन गएन ? स्थानीयको चासो यस विषयमा छ ।

मेरो कार्यकाल सकियो त्यसपछि एउटा ईट्टा पनि थपिएन : मधु अधिकारी
तत्कालिन हेटौंडा नगरपालिकाका प्रमुख मधु अधिकारीले तु खबरसंग कुराकानीका क्रममा वाशुदेव सभागृह निर्माणमा हेटौंडा उपमहानगरपालिका र प्रदेश सरकारको ध्यान नपुगेको देख्दा निकैनै नरमाईलो लागेको बताएका छन् । उनले भने ‘ मेरो कार्यकालमा जति निर्माण सकियो त्यस पश्चात १४ बर्षसम्म पनि एउटा ईट्टा समेत थप्ने काम भएन’ ।

सभागृहलाई प्रदेश सभाको रुपमा विकास गरिने कुरा कहाँ पुग्यो ?

३ नम्बर प्रदेश सरकारले बाशुदेव सभागृहलाई प्रदेशसभाको रुपमा विकास गर्ने योजना अधि सारेको थियो । तर त्यस विषयले अहिलेसम्म पनि पुर्णता पाउन सकेको छैन । वासुदेव सभागृहमा बाहिर कहिले काहिँ राजनीतिक कार्यक्रम गर्न तथा मतदानको बेला मतदान गर्ने काम बाहेक यसले थप कुनै काम पाउन सकेको छैन ।

प्रदेश सरकारको लाखौं खर्च तारे होटलमा

त्यसबेला २ करोड ५० लाखको लागतमा निर्माण गरिएको बाशुदेव सभागृहलाई पुर्णता दिन अब करिब २ करोड लाग्ने भवन निर्माणसंग सम्बन्धीत ईन्जिनियरहरु बताउँछन् । तर प्रदेश सरकारले प्रदेशका विभिन्न सभा तथा सम्मेलन र कार्यक्रमहरु हेटौंडाका तारे होटलमा गरिरहेको छ । जनताले तिरको करबाट सामान्य कार्यक्रमको लागि तारे होटलमा लाखौं खर्च गर्नसक्ने प्रदेश सरकार सभागृहको निर्माणमा भने बेखबर जस्तै छ ।
वाशुदेव सभागृह बेरोजगार भईरहँदा प्रदेश सरकारका तारेहोटलमा हुने सभागोष्ठी फुर्मास खर्च भएको जनताले महशुस गरेका छन् ।

निर्माण सम्पन्न नहुँदै सभागृह अहिले पुरानो जस्तै देखिन थालेको छ । सभागृहमा सिटिहल निर्माण गर्ने उदेश्यले काम थालिएको भएपनि यसले हेटौंडा उपमहानगरपालिका र समग्र ३ नम्बर प्रदेश सरकारलाई नै जिस्काइरहेको छ । करीब ६ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको सभाहल व्यवस्थित हुन सके यसले उपमहानगरपालिकाको आम्दानीमा निकै सहयोग पुर्याउने देखिन्छ । साथै प्रदेश सरकारका कार्यक्रमहरु समेत बासुदेव सभागृह जस्ता सभागृहमा गर्नसके सरकारको लाखौं बजेट बचत हुने बुद्धिजिविहरु बताउँछन् ।