शैन पल्टिएका गहीरा घाउहरु

२०७५, ८ मंसिर शनिबार १३:५७

आनन्दराम पौडेल

काडमाडौं ८ मसिंर । मङ्सिर पहिलो हप्ताको टिभी अन्तर्वार्तामा डा.बाबुराम भट्टराईजीले द्वन्दकालका घाउ र पीडालाइ बिर्सिदिन अपील गर्दैफर्गिभ एण्ड फर्गेट” भनेको देखेर र सुनेर ईश्वर देवकोटाजी स्तब्ध र क्षुब्ध हुनुभयो। भावबिह्वल हुँदै ईश्वर देवकोटाजीले यो अन्तर्ब्यथा ओकल्नुभयो –

आजभन्दा ठीक २० बर्षअगाडी२०५५ साल असार २४ गते भएको घटना हो। त्यसबेला जिल्ला प्रहरी प्रमुखमा डीएसपी पशुपति उपाध्याय (उनि अहिले एआइजी पदमा छन् ) थिए र घ्याम्पेसाल प्रहरी चौकीका इन्चार्ज आनन्द मरहट्ठा थिए । राज्यको नेतृत्वमा नेपाली काङ्ग्रेस नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए ।

 मेरो बुबा गुणनिधि देवकोटा, सूर्यज्योती माध्यमिक विद्यालयताकु(कोट),पाल्खुमा स्थायी शिक्षक हुनुहुन्थ्यो । दिउँसो हामी सपरिवार रोपाईंमा थियौं । बेलुकीको खाना खाएर करिब नौ बजे हामी सबै सुतिसकेका थियौं । ९:३० बजे घरको मुलढोका तोडेर २०५५ साल असार २४ गते राती सरकारी बर्दीधारी प्रहरी एकहूल घरभित्र एकतलामाथि सपरिवार सुतिरहेको ओच्छ्यानमै पुग्यो । केहीबेर कुरा गर्नु छ” भनेर बुबालाई ओछ्यानबाट उठाए । आमाले सलाई कोरेर बत्ति बाल्ने प्रयास गरिरहँदा ‘फु’ गरेर पटक-पटक प्रहरीले बत्ति निभायो । प्रहरीले मधुरो टर्च बुबाको अनुहारमा पर्नेगरि बाल्यो ।

एकदमै हतारगरि बुबालाई हातमा समातेर ओछ्यानबाट तान्दै भर्यांङ्गतर्फ घिसारे । आमाले “कहाँ लगेको ?”  भनेर सोध्नुभयो।केहीबेर कुरा गर्नुछएकछिन हामीसँग हिंड” भन्ने घ्याम्पेसाल प्रहरी चौकीका तत्कालीन इन्चार्ज आनन्द मरहट्ठा थिए । बुबाले, “मलाई कपडा फेर्न दिनुस्” भन्नुभयो । भर्यांग नओर्ली बुबा आफ्नो कपडा झुन्डिएको दलानतर्फ लाग्नुभयो ।आमालाई दलानतर्फ जान प्रहरीले रोक्यो । म बुबाको पछि-पछि थिएँ । पुर्णिमाको जुन मधुरो थियो दलानदेखि आँगनसम्म काला मान्छेहरुको ओहोरदोहोर थियो । घरको पूर्वपट्टी नजिकै रहेको धन्सारको बरन्डामा उक्लने सिंढीमा २ जना काला मान्छे थिए । बरण्डाको छेवैमा सेतो देखिने पोशाकमा एउटा अर्को मान्छे थियो ।

सेतो पोसाकको मान्छे बरण्डाबाट हामफाल्यो र ओझेल पर्यो । पानी रोकिएको थिएन । बुबाले सेतो चेक सर्ट ढाकाको टोपी र कालो पाइन्ट लगाउनुभयो । बुबा भर्यांग झर्दैगर्दा समेत् सर्टको टाँक लगाइसक्नु भएको थिएन । बुबालाई घरबाट निकालेर लैजाँदा बिरामी हजुरबुबा, बहिनी सुनिता र भाई दिवस निदाई नै रहेका थिए । बुबालाई आँगनमा झारेपछि आमाले छाता दिनुभयो । एउटा पुलिसले खोसेर छाता आफैं लियो । बुबालाई लगेको बाटोतिर आमा पछिपछि जानु भयो ।

केहीबेरमा नै आमा हतासिंदै घर फर्किनुभयो । मलाई बाटो छेक्यो जान दिएनबुबालाई कुन बाटो लग्यो मैले देखिन” भन्दै हजुरबुबा र म बसिरहेको ओछ्यानमा पुग्नुभयो । बुबाको केही कपडा झोलामा हालेर आमा घरबाट फेरी निस्कनुभयो । हप्तौंदेखि बिरामी पर्नुभएको हजुरबुबा रुनुभएको पहिलोपटक देखें; त्यो पनि निकैबेर । बुबालाई घरबाट लगिएको आधाघण्टा नबित्दै तीनपटक बन्दुक पड्किएको आवाज आयो । बन्दुक पड्किएको आवाजलाई हामीले वास्ता गरेनौं । झमझम पानी परिरहेको थियो। बुबालाई खोज्दै आमा तिनको बधशाला ‘घ्याम्पेसाल’ पुग्नुभयो । मेरो श्रीमानलाइ कहाँ लगिस्” भनेर प्रश्न गर्दा उत्तर दिएनन् । दिउन् पनि कसरी !! ती राक्षेसहरुले बुबालाई बाटोमानै खाइसकेका रहेछन् । भोलिपल्ट असार २५ गते मध्यदिनमा बुबाको निस्प्राण शरीर खोलामा भेटियो । प्रहरीले, “हतियारधारी जत्थाले गोलिहानी मारेको” भन्ने कागज तयार पर्यो । शव पोस्टमार्टम गर्नसमेत् दिएन । 

रगतले लतपतिएका तिनका घृणित अनुहारमा छर्लङ्ग दानवस्वरूप अझै पनि देख्छु म ।  योभन्दा भयङ्कर पीडा अर्को के थपियोभने, २०६३ पछि माओवादीकै नेताहरुले हाम्रो आलो घाउमा नुन-चुक दल्ने काम मात्र गरिरहेका छन् । हिजो ज-जस्ले जनताका घाँटी रेटे, चरम यातना दिए, अङ्गभङ्ग पारे र नरपिचाशले भन्दा चर्को अत्याचार गरेका थिए, माओवादीका नेताहरुले सत्तामा पुग्नासाथ तिनैलाइ काखिच्याप्न थाले। प्रधानमन्त्री भएकाबेला डा.बाबुराम भट्टराईले कर्णेल कुमार लामालाइ जोगाउनका लागि ६ करोड खर्च गरे। 

विचार सिद्धान्त अनि न्यायका ढोका साँघुरो हुँदैगयो। अहिले कथित न्यायका ढोकाहरु पूर्णत: बन्द गरिएका छन् । उनका दरबार ठडिंदा हामी उजाडिईसकेका थियौं । शहीदका सपना’ एउटा भजन जानेका छन्; त्यत्ति हो । कैयौं जघन्य हत्यामा प्रत्यक्ष मुछिएका यिनीहरुले हामीजस्तै “गुणनिधि देवकोटा” हरुका सन्तानलाई जवाफ दिनु पर्दैन ?  हामी युगौंयुग जवाफ खोजिरहने छौं; न्यायका निम्ति ।