खानी बन्द भएको भन्दै खोलिदिन शिवम् सिमेन्टको पत्र वडा कार्यालयलाई

२०७५, ४ मंसिर मंगलवार ०८:४३

मकवानपुर । शिवम् सिमेन्टले आफ्नो खोरटार खानी बन्द भएको भन्दै खोल्न आवश्यक पहलको लागि मकवानपुरगढी–७ वडा कार्यालयलाई पत्राचार गरेको छ ।

विगत ६ बर्षदेखि निर्वाध संचालनमा रहेको खानी केही युवाहरुले अवरोध सिर्जना गरी बन्द गराएको भन्दै शिवम्ले वडा कार्यालयलाई समन्वय गरी संचालनको वातावरण बनाइदिन भनेको छ ।

खानी प्रमुख रामजी चौरसियाको नामबाट जारी भएको विज्ञप्तीमा छलफल गरी समस्या समाधानको लागि पहल गरिदिन भनिएको छ । उद्योगले खानी क्षेत्रको जनताको लागि महत्वपूर्ण लगानी गरेको र राज्यलाई कर समेत तिरेकोमा अहिले खानी बन्द भएको जिकिर गरिएको छ ।

वडा नम्बर ७ का अध्यक्ष सूर्यबहादुर रुम्बाले भने यस बिषयमा आफूलाई जानकारी नभएको बताए । ती युवा र उद्योगबीच के कस्ता सम्झौता छन्, त्यो मलाई जानकारी छैन, उनले तु खबरसँग भने ।