पत्रकारको कार्यक्रममा कानुनमन्त्री जम्मकट्टेल कड्कीएपछि….

यहि तालले १ लाख बर्षमा पनि मुलुक समृद्ध हुन्न : मन्त्री जम्मकट्टेल
२०७५, २९ कार्तिक बिहीबार १८:२२

बलराम पुडासैनी

मकवानपुर २९ कात्तिक । ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले पत्रकारहरुसंग असन्तुष्टी व्यक्त गरेका छन् । पत्रकारहरुले स्वतन्त्र रुपमा पत्रकारिता नगरेको उनले अरोप समेत लगाएका छन् । फ्रिडम फोरम प्रदेश नम्बर ३ को आयोजनामा भएको सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य विषयक कार्यक्रममा बोल्दै उनले मकवानपुरे पत्रकारहरुमात्र नभई अन्य पत्रकारहरुले समेत स्वतन्त्र रुपमा काम गर्न नसकेको आरोप लगाए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कानुनमन्त्री जम्मकट्टेलले पत्रकारहरुले समाजको वास्तविकतालाई खोतल्न नसकेको बताए । प्रदेश सरकारले गरेको राम्रा कामहरुबारे पत्रकारहरुले समाचार नबनाउने गरेको उनले आरोप लगाए । उनले बुधबार हेटौंडामा भएको मदिराजन्य बस्तुको उत्पादन विक्रिवितरण, प्रयोग र व्यवस्थापन सम्बन्धि अन्र्तक्रिया कार्यक्रमको कसैलेपनि समाचार नलेखेको बताए ।

उनले भने ‘ बिहान मिडियामा आएकोे समाचार पढेर वा सुनेर जनताको देश र समाजप्रतीको धारणा निर्माण हुन्छ । पत्रकारहरुले हामीले गरेको राम्रा कामको समाचार सम्प्रेसण नगर्ने र फरक कोणबाट समाचार लेख्नाले जनताको प्रदेश सरकारप्रतीको धारणा नकारात्मक बन्दै गएको बताए ।

स्वतन्त्र रुपमा पत्रकारिता गर्ने कोहि पनि पत्रकार नभएको उनको आरोप थियो । उनले ठुलो स्वरमा भने ‘ कोहि स्वतन्त्र पत्रकार छ ? छ भने भन्नुस् । तपाईहरु खाली अर्काको समाचार लेख्नुहुन्छ , कहिलेकाँही आफ्नो समाचार पनि लेख्नुस् अनि बल्ल पत्रकारिता सुधारिन्छ, समाज सुधारिन्छ । ’ उनी एकोहोरो कड्कीए ।

मन्त्री जम्कट्टेलले मुलुक लोकतन्त्रमा आए पनि केही मिडिया हाउसका संचालकमा अझै त्यसको भाव नआएको उल्लेख गरे । ‘केही पत्रकारहरुले अहिले पनि जे मन लाग्यो, त्यही लेख्ने गरेका छन्’ उनले भने , ‘पत्रकारितामा त्यस्तो प्रवृति अन्त्य हुनुपर्छ ।’ उनले आफुपनि जनताको हितका लागि एउटा सिपाहीको रुपमा रहेको बताउँदै पत्रकारहरुले स्वतन्त्र भएर मद्धत गरे समाजमा विकास आउने बताए । नत्र पत्रकारको पनि उस्तै ताल अनि नेता र सरकारको पनि उस्तै ताल रहिरहे एक लाख बर्षसम्म पनि मुलुकमा समृद्धि नआउने उनले दाबी गरे ।

मन्त्री जम्कट्टेलले द्वन्द्वमा ज्यान गुमाएका पत्रकारका परिवारले न्याय पाउनुपर्ने बताए । कार्यक्रममा विभिन्न घटनामा जीवन गुमाएका ३६ जना पत्रकारबारे वृतचित्र प्रस्तुत गरिएको थियो ।