हेटौँडा र रौतहटसित सम्बन्धित छ लोकपर्व छठ : यसको उत्पति र विकासबारे एक चर्चा

२०७५, २७ कार्तिक मंगलवार ०८:२०

लेखक

नेपाल र भारत लगायत विश्वका विभिन्न देशमा कात्तिक महिनाको शुक्ल षष्ठीका दिन मनाइने छठ लोकपर्व हो । पहिले नेपालको तराई मधेस र भारतको बिहार तथा उत्तर प्रदेशमा मात्र मनाइने छठको विस्तार यस क्षेत्रबाट काम विशेषले जहाँ जहाँ पुगे, यो पर्वको विस्तार हुँदै गएको देखिन्छ । पछिल्लो दुई दशकमा यस पर्वको विस्तार विश्वको धेरै देशमा फैलिइसकेको छ । अब मधेसी समुदायको मात्र छठ नभई हिन्दू धर्मावलम्बी करिब सबै समुदाय तथा सम्प्रदायमा फैलिँदै गएको छ । नेपालको तराई मधेसमा हिन्दू बाहेक इसाई, मुस्लिम र नेवार समुदायले पनि मान्ने गरेको पाइन्छ । छठलाई लोकपर्व नै मानिन्छ तर यसको विस्तार हुन थालेपछि यसलाई विस्तारै शास्त्रीय पर्वको रुपमा पनि व्याख्या गरिन थालिएको छ । विभिन्न वेद, पुराण तथा शास्त्रहरूसित जोडेर हेर्न थालिएको छ ।

सूर्य पूजामात्र छठ पर्व होइन

विभिन्न वेद तथा पुराणमा सूर्य पूजाको बारेमा चर्चा रहेको पाइन्छ । सूर्य पुराण नै रहेको छ जसमा सूर्य पूजाको विषयमा विस्तृत उल्लेख गरिएको छ । सूर्यलाई अध्र्य दिने वा जलार्पण गर्ने तथा देउता मानेर पूजा गर्ने संस्कृति पुरानै हो । विभिन्न मन्त्रहरुमा पनि सूर्यलाई पूजा गरिने गरिएको पाइन्छ । सूर्यलाई अन्य धर्मावलम्बीहरुले पनि विभिन्न नाम र रुपमा पूजा गर्ने गरेको पाइन्छ । यस अर्थमा सूर्य पूजालाई छठ पर्व मान्न सकिँदैन । छठ पर्वमा सूर्यलाई मात्र पूजा गरिँदैन । सूर्यलाई साक्षी मानिन्छ र अध्र्य चढाइन्छ । वास्तवमा छठमा गरिने सूर्यको पूजा साक्षीको लागि मात्र भएको बताइन्छ ।

रामायणका नायक रामलाई सूर्यवंशी मानिएको छ । लंकाबाट फर्केपछि रामले पनि सूर्यपूजा गरेका थिए । महाभारतका पात्र कर्णले पनि घन्टौँ सूर्यपूजा गर्दथे । तर दुवै प्रसंगलाई छठ पूजा भनिएको पाइन्न ।

छठ पर्व सबैभन्दा पहिले द्रोपदीले गरेको पाइन्छ । १२ वर्षको बनबासपछि एक वर्ष अज्ञातबास बिताउनु पर्ने तथा अज्ञातबासमा कौरवका कुनै दूतले पाण्डवलाई फेला पारेमा फेरि १२वर्ष बनबास बस्नुपर्ने शर्त थियो । अज्ञातबासको सफलताको लागि द्रोपदीले पहिलोचोटि द्रोपदीले छठ पर्व गरेको विश्वास छ । छठको समयमा विभिन्न टेलिभिजन र पत्रपत्रिकाहरुले पनि यसै विषयमा उल्लेख गर्दछन् । सबैभन्दा बढी मत छठको सुरुआत द्रोपदीबाटै भएको मानिएको छ । उसो भए द्रोपदीले आफ्नो अज्ञातबासको लागि पहिलो छठ कहाँ गरेकी थिइन् त ?

हिडिम्बा, हेटौँडा र भुटनदेवी मन्दिर

मकवानपुर जिल्लाको हेटौँडामा भुटनदेवी मन्दिर छ । यो मन्दिर निकै प्रसिद्ध रहेको छ । भुटनदेवीलाई हिडिम्बा भएको मानिन्छ । हिडिम्बाको विवाह भीमसित भएको पाइन्छ । भीम र हिडिम्बाको संयोगबाट घटोत्कचको जन्म भएको थियो । त्यहीँ हिडिम्बाको नामबाट कालान्तरमा यस बस्तीको नाम हेटौँडा भएको पचासको दशकमा हेटौँडा नगरपालिकाद्वारा प्रकाशित स्मारिकामा उल्लेख गरिएको थियो । हिडिम्बा राक्षसनी आफ्नो दाजु हिडिम्बसित बसेको ठाउँ भएकोले महाभारत कालको बनबासको केही समय यस क्षेत्रमा बिताएको पुष्टि हुन्छ ।
महाभारत युद्धमा भीमसेन र हिडिम्बाको छोरा घटोत्कचको मृत्यु कर्णको वाणबाट भएको थियो । महाभारत युद्ध सकिएपछि भीमसेन छोराको मृत्युको खबर पत्नी हिडिम्बालाई सुनाउन हतारिएका थिए । हिडिम्बा भएको ठाउँमा आउँदै गरेका भीमसेनले परैबाट आफ्नो हतियार गद्दा फालेका थिए । उनको गद्दा फालिएको ठाउँ नै हेटौँडाको उपत्यका बनेको जनविश्वास रहेको छ । हेटौँडादेखि फुर्केचौरसम्मको पहाड उनले फालेको गद्दाले चकनाचुर भएको भएको थियो । यो ठाउँको लम्बाइ करिब सोर किलोमिटर लामो रहेको छ ।

समनपुरको महादेव मन्दिर र पाण्डवको सम्बन्ध

रौतहटको गढीमाई नगरपालिकाको समनपुर ऐतिहासिक तथा पौराणिक घटनाहरुको आफैँमा साक्षी छ । नेपाल–अंग्रेज युद्धको समयमा स्थानीयबासीले नै तोप तथा अन्य अत्याधुनिक हातहतियारले सुसज्जित अंग्रेजी फौजलाई हराएको ऐतिहासिक ठाउँ हो । यस बजारको सम्बन्ध प्राचीन इतिहाससित पनि रहेको छ । तत्कालीन नेपाल (काठमाडौँ) र पाटलीपुत्र (पटना)को व्यापार बागमती नदीको किनारै किनार हुँदा समनपुर ठूलो व्यापारिकस्थलको रुपमा थियो । यहीँ समनपुर बजारनजिक एउटा महादेव मन्दिर रहेको छ (यसै महादेवको नाउँमा शंकर मावि हाल शंकर गुदर माध्यमिक विद्यालय पनि सञ्चालनमा छ) । महादेव मन्दिरको स्थापनाको विषयमा एउटा किंवदन्ती प्रचलनमा रहेको छ ।

पाण्डवहरुले अज्ञातबासको सुरुआत यहीँबाट गरेका थिए । द्रोपदीले बागमती नदीको किनारमा छठ व्रत गरेपछि अज्ञातबासको लागि एउटा सुरुङमा पसेका थिए । सुरुङभित्र पसेपछि सुरुङको प्वाल बाहिरबाट बन्द गर्न मुखैमा एउटा ढुंगा हालेका थिए । सुरुङभित्र चार दाजुभाइ र आमा पसिसकेपछि सबैभन्दा पछि पसेका भीमले सुरुङ नदेखियोस् भन्ने उदेश्यले सुरुङको मुखमा ढुङ्गा हालेका थिए । आज पनि के विश्वास रहेको छ भने महादेवमाथि जतिसुकै जल चढाएपछि पानी कहाँ जान्छ भनेर थाहै हुँदैन । सुरुङको मुखमाथि ढुङ्गा राखिएकोले पानीजति सुरुङमै पस्दछ भन्ने विश्वास स्थानीयबासीको छ । सुरुङमा पसेर अज्ञातबास सुरु गरेका पाण्डवहरु बागमती नदी पारि गएर केही दिनको यात्रापछि विराटनगर विराटको दरबारमा भेष बदलेर पुगेका थिए जहाँ अज्ञातबास पूरा गरेका थिए ।

महादेव भनेर पूजा भइरहेको ढुङ्गा भीमसेनले ल्याएको हो भन्ने विषयमा पनि स्थानीयबासीमा फरक विश्वास रहेको छ । हिडिम्बासित बिहे भएपछि केही समय हेटौँडाकै आसपासमा रहेको जङ्गल तथा पहाड र नदी किनारमा बिहार गरेका थिए । यसै क्रममा चुरे पहाडमा पनि बागमतीको किनारमा गएका थिए । एक दिन भीमसेनले पहाडको टुप्पोमा पुगेर ख्याल ख्यालमै एउटा ढुङ्गा फालेका थिए । त्यहीँ ढुङ्गा केही समयपछि उनलाई सुरुङको मुखमा हाल्न काम लागेको थियो ।

महादेव मन्दिरमा करिब डेढ दशकपहिलेसम्म कछाडिया समुदायले श्रीपञ्चमीको दिन बिहे यहीँ आएर गर्दथे । अहिले यो चलन लगभग समाप्त भएको छ ।

द्रोपदीले अज्ञातबासको सफलताको लागि छठ गरेको र अज्ञातबास प्रारम्भ भएको ठाउँ रौतहटको समनपुरमा रहेको रहेकोले छठको सुरुआत रौतहटको समनपुरबाटै भएको हो भन्न सकिन्छ ।

हेटौंडामा रहेको भुटनदेवि मंदिर ।

 

शास्त्रीय पर्वको खण्डन

शास्त्रीय पर्व तथा पूजामा पण्डित पुरोहितले गराउने गरेको पाइन्छ । शास्त्रीय सबै पर्व तथा संस्कृतिका देवता पनि पौराणिक हुने गरेको र पूजन कार्यमा पनि पण्डितको प्रयोग हुने गरेको देखिन्छ । यसकारण छठ पर्वलाई शास्त्रीय पर्व मान्न सकिँदैन । छठ पर्वमा कुनै पनि पण्डित पुरोहितको आवश्यकता पर्दैन । व्रतालुहरु नै सर्वोपरि हुन्छन् । पर्वका सम्पूर्ण विधि व्रतालुहरु आफैँले पूरा गर्दछन् । शास्त्रीय पर्व र देउताको मुख्य पूजनविधि कुनै शास्त्रमा लेखिएबमोजिम हुने हुँदा सर्वत्र करिब समानता पाइन्छ तर छठपूजाको विषयमा यसमा पार्थक्य छ । स्थानीयरुपमा उपलब्ध सामग्री चढाइने गरिन्छ ।

अन्य पूजामा पनि सूर्यलाई अध्र्य
सूर्यलाई अध्र्य दिइने भएकोले धेरैले छठ पूजाको अर्थ सूर्य पूजा वा सूर्यलाई अध्र्य दिने पर्वको रुपमा पनि मान्दछन् । सूर्यलाई अन्य पूजामा पनि अध्र्य दिइन्छ । तराई मधेसमा लोकदेवताको रुपमा रहेका गोविन्द, गणिनाथ, फेकुराम, कारिख, गोरेया आदिको पूजा गरिँदा पनि सूर्यलाई अध्र्य दिने चलन रहेको छ । सूर्यलाई अध्र्य दिइने सबै पर्व वा पूजा छठ होइन र छठमा सूर्यलाई अध्र्य मात्र दिएर सम्पन्न गरिन्छ भन्ने होइन ।

छठको संकल्प गोवद्र्धन पूजाबाट
कतिपयले छठ एक दिनको मात्र हुन्छ भनेर बुझेका छन् ।
छठ पर्वको शुभारम्भ कार्तिक शुक्ल द्वितीयाको दिनदेखि नै हुन्छ । यस दिन बिहान सामान्यतया सूर्योदयपूर्व (तर आइतवार, मंगलवार र विहीवार परेमा कतै कतै सूर्याेदयपछि) गोवद्र्धन पूजा गरिन्छ । हरेक व्रतालुले अनिवार्य रुपमा गोवद्र्धन पूजा गरिने चलन रहेको छ ।
गाई र गोरुको गोठमा रातिको गोबरलाई पहाड तथा गोवद्र्धन भगवानको प्रतिकृति बनाइन्छ । घरमा गाई वा गोरु हुने व्रतालुले आफ्नै गोठबाट गोवद्र्धन भगवानको प्रतिकृति बनाएर गाउँको कुनै चौबाटोमा भेला भएर सामूहिक गोवद्र्धन पूजा गरिन्छ जसलाई गोधन कुटाइ भनिन्छ । गोधन कुटाइका लागि गोबरमा केराउ (बजडी), सिन्दुर, गाजल, कपास, मिठाइ आदिको प्रयोग गरिन्छ । त्यहाँ एउटा माटोको हाँडीलाई चारैतिरबाट टिका लगाएर हाँडीभित्र माटोको दियो बालेर गोबरले बनाएको गोवद्र्धन पहाडमाथि राखिन्छ । चारैतिरबाट व्रतालुहरुले उभिएर पहिला छठ पर्वको गीत गाउँछन् र हलोको जुवाले हाँडीलाई फुटाउँछन् । हाँडी फुटाउने जुवालाई छठ पर्व गर्ने महिलाहरुले मात्र समाउन पाउँछन् । यो नै छठ पर्वको संकल्प हो । टोलमा को को व्रत गर्दैछन् भन्ने यहीबाट थाहा हुन्छ ।

अज्ञातबास प्रारम्भ गर्न पाण्डवहरुले सुरुङ खनी पसेको सुरुङको मुखमा भीमसेनद्वारा राखिएको मानिएको ढुङ्गा जसलाई महादेव मानेर पूजा गरिन्छ । समनपुर, रौतहट ।

जुवाको अनेक प्रहारले हाँडी फुटेपछि उपस्थित सबै महिलाका दाजु र भाइको नाम लिई लिई एकै स्वरमा गीत गाउँछन् जसलाई स्थानीय बज्जिका भाषामा सरापेको भन्छन् । गीतमा दिदी–बहिनीले दाजु–भाइको लामो आयुको कामना र प्रार्थना गर्दछन् । हाँडी फुटाएको गोबरमा चढाइएका विभिन्न सामग्रीलाई सबै व्रतालुहरुले निकाल्ने प्रयास गर्दछन् । मुख्य गरी दाजु भाइले अनिवार्यरुपमा त्यो सामग्री कपासमा मुछेर खाने चलन छ ।

छठको संकल्प गरेपछि व्रतालुहरु छठ पर्वको लागि पकाइने सामग्रीको लागि चुलोको निर्माण सुरु गर्छन् र ठेकुआ तथा कसारको लागि धान र गहुँ घाममा सुकाउन थाल्छन् । संकल्पपछि छठको औपचारिक तैयारी सुरु हुन्छ ।

खरना : मुख्य पर्व
कार्तिक शुक्ल चतुर्थीको दिन नुहाएर खाने गरिन्छ जसलाई नहाखाएके भनिन्छ । त्यसको भोलिपल्ट पञ्चमीको दिन खरना हो । खरनामा व्रतालु चाहिँ दिनभर भोकै बस्छन् । द्वितीयाके दिन बनाएको चुलोमा नै खरनाको सामग्री पकाउन आगो बालिन्छ । पञ्चमीको साँझ खीर, चामलको रोटी र मुला छठीमाईलाई आफ्नै घरमा चढाइन्छ जसलाई नेओज काढेके भनिन्छ । खरनामा अन्य खानेकुरा पनि ठाउँ र क्षमताअनुसार चढाइन्छ तर यी तीनलाई अनिवार्य मानिन्छ ।

घर वा आँगनको कुनै पनि ठाउँमा लिपपोत गरी पवित्र पारी केराको पातमा खीर,

रोटी र मुला चढाइन्छ । कुनै पनि मूर्ति वा फोटोको प्रयोग हुँदैन । नजिकै एकाछेउमा आँपको लकडी वा गुइँठाको आगोमा धूप हालिन्छ । कसले कुन भाकल गरेको हो वा किन पर्व गरेको हो भन्ने कुरो यहाँ देउतासमक्ष भनिन्छ । आरोग्यको कामना र प्रार्थना गरिन्छ । व्रतालुले समेत खान्छन् । यसलाई समग्रमा खरना भनिन्छ ।
खरना सकिएपछि यसको प्रसाद बाँड्ने चलन पनि छ । जसको घरमा छठ हुँदैन, उनका आफन्तहरुले खीर, रोटी र मुला पु¥याइन्छ ।
छठ पर्वको मूल पूजा खरना नै हो किनभने छठ पर्व गर्नैपर्ने बाध्यतामा रहेको तर व्रतालु अशक्त वा बिरामी भएको अवस्थामा दिनभर भोकै बसेर साँझमा खरना गरी नेओज काढेको ठाउँमा आफ्नो विवशता छठीमाईलाई सुनाएपछि छठ व्रत गरेको मानिन्छ ।
खरना नगर्नेलाई छठ गरेको नमानिने तर कुनै बाध्यताका कारण षष्ठीको दिनको व्रत बस्न नसकी खरनामात्र गर्नेलाई छठ गरेको मानिन्छ । यसर्थ छठको मुख्यपर्व चाहिँ खरना नै हो ।

सुरुङको ढुङ्गालाई महादेव मानी बनाइएको प्राचीन मन्दिर ।

 

छठघाटको पूजन सामग्री
खरनाको भोलिपल्ट कार्तिक शुक्ल षष्ठीका दिन दिउँसो बस्तीको नजिकको नदी वा तलाउको घाटमा पूजा हुन्छ । सामान्यतया अस्ताउँदो र उदाउँदो सूर्यलाई देख्न सकिने ठाउँमा घाट बनाइन्थ्यो तर निरन्तर मानव बस्ती विस्तारको कारणले अब बिस्तारै प्रतीकात्मक बन्न पुग्दैछ । पानीसम्म व्रतालु महिलाको पहुँच सजिलै होओस् भन्ने ध्यान दिइन्छ । आजभोति घाटलाई सजाउने प्रतिस्पर्धा नै चल्न थालेको छ ।
षष्ठीको दिन ठेकुआ र कसार बनाउने काम बिहानैदेखि हुन्छ । खरनाको सामग्री पकाएकै चुलोको उपयोग हुन्छ ।
छठघाटमा लैजानको लागि ठेकुआ, कसार, केरा, अदुवा, केराउ, उखु, निबुआ, अक्षता र तुलसीको पात अनिवार्य चाहिने मूल सामग्री हुन् । यी सबै सामग्री रौतहटमै पाइने हुन् । अन्य सामग्रीहरु जस्तै ल्वाङ, सुकुमेल, नरिवल, स्याउ, सुन्तला विस्तारै थपिँदै गएका हुन् । ठाउँ र उपलब्धताअनुसार यसका अन्य सामग्रीहरु थपिँदै गएका छन् ।

पहिले अध्र्य बाँसको सुपलीमा दिइन्थ्यो । आजभोलि यसको प्रचलन कम हुँदै धातुको भाँडाको प्रचलन बढ्दै गएको छ । घाटमा लैजानुपर्ने सबै सामान बाँसकै एउटा ठूलो ढकीमा राखिन्छ । यसमा पनि धातुको भाँडोको प्रयोग बढ्दै गएको छ ।

छठ घाटमा पूजाको लागि ठाउँ बनाएको हुन्छ, जसलाई श्रीसप्ता भनिन्छ । व्रतालुको उपस्थिति र घाटमा उपलब्ध ठाउँअनुसार एक वा अनेक श्रीसप्ताको बनाइएको हुन्छ । छठ घाटमा पुग्नासाथ सबैभन्दा पहिले सूर्यलाई अध्र्य दिएर श्रीसप्ताको वरिपरि बस्छन्, पूजा गर्दछन्, गीत गाउँछन् । रात पर्न थालेपछि कतिपय ठाउँका व्रतालु घर फर्किन्छन् । कतिपय ठाउँमा घाटमै रातभरि बस्ने व्यवस्था मिलाइएको हुन्छ । घर फर्किदा होओस् वा घाटमा बस्दा राति कोसिया भरिन्छ । हरेक व्रतालु छठमा प्रयोग भएको सम्पूर्ण सामग्रीसहित कुनै न कुनै कोसियामा अनिवार्य सहभागी हुनुपर्छ । यो पनि विशेष प्रकारको विशिष्ट पूजा हो जुन छठीमाईलाई गरिन्छ । घर फर्केकाहरुले पनि कोसिया भएको ठाउँमा पुगेर गीत गाउँदै छठपवनीको कथा सुन्छन् । जसलाई केही भाकल गरिएको हुन्छ, उसको हातखुटा एउटा धागोले बाँध्छन् । धागोले बाँध्ने अधिकार बहिनीलाई छ । बहिनी नभए दिदी, फुपू वा भान्जीले बाँध्छन् । एक दुइटा गीतपछि बाँध्नेले केही दान–दक्षिणा लिएर खोल्छन् । यो निकै महत्वपूर्ण संस्कृति हो । कोसिया हुने चाहिँ राति नै फेरि छठघाट पुग्नुपर्छ । कोसियामा प्रयोग भएको माटोको हात्ती वा दियोयुक्त घैलालाई घाटनजिकको जलाशयमा राखिन्छ ।

सूर्यलाई नदीमा अध्र्य दिँदै व्रतालु ।

 

घाटमा बस्नेहरुको रात त्यहीँ बित्दछ तर घर फर्किनेहरु बिहान झिसमिसे अँध्यारोमै फेरि घाटमा पुग्छन् सबै सामानहरु लिएर । श्रीसप्ताको वरिपरि हिजोकै ठाउँमा जस्ताको तस्तै बसेर उही विधिले पूजा गर्दछन् । जलाशयबाट सूर्य देखिन सक्ने गरी सूर्यको प्रकाश आएपछि फेरि जलाशयमा पुगेर सूर्यलाई अध्र्य दिइन्छ । सूर्यलाई अध्र्य दिएपछि छठ पर्व समापन हुन्छ ।
घाटमा पुग्नेबित्तिकै अस्ताचलगामी सूर्यलाई साक्षी राखेर सुरु गरिने घाटमा श्रीसप्ताको छठपूजा रातभरि गरेपछि बिहान फेरि उदाउँदो सूर्यलाई साक्षी राखेर कि रातभरि पूजा गरेको हुँ भनी त्यहीँ अध्र्य जस्ताको तस्तै देखाएपछि छठ पर्व सम्पन्न हुन्छ ।
त्यसपछि सबै व्रतालुहरु एक अर्कालाई शुभकामना दिने, ठूलाले सानालाई आशीर्वाद दिने र सानाले ठूलाको आशीर्वाद ग्रहण गर्ने काम हुन्छ । छठको प्रसाद साटासाट हुन्छ र कतिपयले त्यहीँबाटै खान पनि सुरु गर्दछन् ।
छठ पर्व सकिएपछि लगत्तै दिदी–बहिनीकहाँ छठको कोसेली पु¥याउने चलन छ ।

उपसंहार
हिडिम्बाको निबास हेटौँडा हुनु, पाण्डवहरुले अज्ञातबास सुरु गर्नुभन्दा पहिले सुरुङमा लुकेको ठाउँ समनपुरमा हुनु तथा अज्ञातबास सफल बनाउन द्रोपदीले छठ पर्व गरेको लोकतथ्य पाइनु र पाण्डवहरुको अज्ञातबासको करिब सम्पूर्ण समय विराटनगर र आसपासमा बितेको पाइनु लगायतका साक्ष्यहरुको आधारमा लोकआस्थाको महापर्व छठको सुरुआत नेपालकै रौतहटको समनपुरबाट भएको हो भन्ने मेरो दाबी छ । यसर्थ विश्वभरि फैलिँदै गएको छठ नेपालको मौलिक लोकपर्व हो ।

– लेखक अनुसन्धानकर्ता एवम् बरिष्ठ पत्रकार हुन् ।