मकवानपुर प्रहरीद्वारा रानाको हत्यामा संलग्न ७ जना पक्राउ

२०७५, २२ कार्तिक बिहीबार १४:४४

मकवानपुर २२ कात्तिक । गएराती देउसी भैलो खेल्ने क्रममा भएको झडपमा परी रमेश राना मगरको मृत्यु भएपश्चात फरार रहेका ७ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा हेटौंडा नवलपुरका बर्ष २३ का जिसु श्रेष्ठ , बर्ष २९ का सुरेश श्रेष्ठ , बर्ष २३ सौरव अर्याल, बर्ष २५ को लुङ्वा भन्ने अमुल लामा, बर्ष २४ को लुङ्वा भन्ने अमृत लामा, बर्ष २२ को कत्ले र भतिज भन्ने रुपेश चुनी मगर, र नुवाकोट घर भइ हाल जिल्ला मकवानपुर हृेटौंडा ११ नवलपुरमा डेरा गरी बस्ने बर्ष २९ को घन टाउके भन्ने सुजेन लामा रहेका छन् ।

गएराती ०१ : ३० बजे मकवानपुरको हेटोंडा उपमहानगरपालिका वडा नम्बर ११ मा देउसिभैलो हेर्न भनि मापसेगरी हिडेका युवाहरुको समुहबिच झडप भएको थियो । झडपमा परी रमेश राना मगरले ज्यान गुमाएका थिए ।
झडपमा परी राना घाईते भएका थिए । उनलाई उपचारको लागि हेटौंडाको चुरेहिल अस्पताल ल्याईएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीको भनाई छ ।

त्यसैगरी झडपमा परी घाईते भएका अर्का बर्ष २५ का रंजित श्रेष्ठको भने अहिले हेटौंडा अस्पतालमा उपचार भईरहेको जानकारी छ ।