तिहारपछि मुख्यमन्त्री पौडेलविरुद्ध कडा आन्दोलन गर्छु : स्थापित

२०७५, २१ कार्तिक बुधबार ०६:४१

काठमाडौं २१ कात्तिक । बर्खास्तीमा परेका प्रदेश ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको अमेरिकन गुप्तचर संस्था सिआइएसँग साँठगाँठ रहेको आरोप लगाएका छन् ।

स्थापितले संविधान, कानुन विपरीत अराजक ढंगले मुख्यमन्त्री पौडेल चलिरहेको दावी गर्दै तिहारपछि उनीविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिए । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र सर्न नदिन मुख्य मन्त्री पौडेलले आफूलाई पदबाट बर्खास्त गरेको दावी गरे ।

स्थापितले मुख्यमन्त्री पौडेलले प्रदेश मन्त्रिपरिषदलाई जानकारी समेत नदिई प्रदेश नीति तथा योजना आयोग गठन गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । स्थापितलाई आफूमाथि दुव्र्यवहार गरेको र कार्य सम्पादनमा चित्त नबुझेको भन्दै मुख्य मन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा पदबाट बर्खास्त गरेका थिए ।
नयाँ पत्रिकामा समाचार छ ।