दोहोेरी साँझको लुटेरा शैली, मकवानपुर प्रशासनलाई चुनौती

२०७५, १९ कार्तिक सोमबार २१:५१

मकवानपुर १९ कात्तिक । मकवानपुरको हेटौंडामा रहेका व्यवसायीक पसल वा होटेल रातको १० बजेपछि बन्द हुन्छन् । शुरक्षाको हिसाबले पनि मकवानपुरको प्रशासनले रातको १० बजेपछि मदिराजन्य विक्रीवितरण तथा सार्वजनिक स्थानमा मदिरा सेवनमा रोक लगाएको छ । तर बिना कसैको अनुमती रातको १ बजेसम्म हेटौंडाको बसपार्कमा रहेको हेटौंडा दाहोरी साँझ लुटेरा शैलीमा संचालनमा आईरहँदा समेत मकवानपुरको प्रशासन मौन छ ।

उक्त दोहोरी साँझ ग्राहकको आवश्यकता अनुसार रातको १ बजेसम्म पनि संचालनमा आउने गरेको स्थानीयहरुले बताएका छन् ।
त्यसो त हेटौंडा दोहोरी साँझले बाहिर रहेका होटल व्यवसायको तुलनामा जुनसुकै परिकारमा ४ गुणासम्म चर्को मुल्य लिएर ग्राहकहरुको ढाँड सेक्दै आएको गुनासो समेत ग्राहकहरुको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा बजार क्षेत्रमा रातको १० बजेसम्म मात्रै मदिरा विक्रि वितरणको अनुमति दिएको छ । सुरक्षा र सभ्यताको दृश्टीकोणले मदिरा सेवन तथा विक्रीको अनुमती रातको १० बजेसम्म दिईएको भएपनि बजारमा होहल्ला फैलाउँदै रातको १ बजेसम्म संचालनमा आएको दोहोरी साँझको अनुगमनमा सरोकारवाला निकायको ध्यान अझै पुग्न नसकेको स्थानीयको गुनासो छ ।

नाम नबताउने सर्तमा एक स्थानीयले भने ‘ दोहोरी साँझको कारण निकै होहल्ला सहनुपरेको छ । बोले कुट्लान भन्ने डर नबोले अत्ति भो ’ । दोहोरी साँझले चर्को मुल्य असुल्ने अनि होहल्ला मच्चाउने गरेको छ । दोहारीबाट निस्कीएका ग्राहकहरुले रातको १ बजे बजारको सडकमा झगडा गर्ने गरेको समेत स्थानीयले गुनासो गरेका छन् ।

यस विषयमा तु खबरले मकवानपुरका सिडिओ अस्मान तामाङलाई जिज्ञासा राख्दा उनले शान्ति तथा सुरक्षाको लागि १० बजेभन्दा बढी आफुहरुले कसैलाईपनि मदिरा विक्रिमा छुट नदिएको बताए । उनले भने ‘यदि कसैले नियम विपरित यस्तो काम गरिरहेको भेटिएमा कारबाही हुन्छ ।’

होहल्ला मच्चाउने, चर्को शुल्क असुल्ने,अनि ग्राहकसंग बिलविनाको कारोबार दोहोरी साँझले गर्दै आईरहेको छ । दोहोरी साँझले कर छलि गरेको समेत सुचना प्राप्त भएको छ । यस विषयमा सम्बन्धीत निकायको ध्यान जानु आवश्यक छ ।‘