गहना चोरी गर्ने एक जना पक्राउ

२०७५, १९ कार्तिक सोमबार १६:२७
File Photo

हेटौँडा १९ कात्तिक । हेटौंडामा सुनचाँदी पसलबाट सुनको गहना चोर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गोपालगञ्जकी २४ बर्षीया सविता देवी रहेकी छिन् ।

हेटौँडा–१० मा रहेको दिपशोभा ज्वेलरी पसलमा १४ र १५ लालको मंगलसुत्र चोरी भएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले पसलमा जडान गरेको सिसि क्यामाराको भिडियो हरेर सवितालाई पक्राउ गरेको हो ।

प्रहरीले सविता बस्नेको कोठामा दराजमा लुकाई राखेको अवस्थामा गहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गहना चोर्ने महिलालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।